चार महिनामा एक करोडउन्सत्तरी लाख बढि खर्च
कञ्चनपुर, २७ साउन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण लागि गत बर्ष २०७६÷०७७ मा गरेको खर्चको विवरण सार्जजनिक गरेको छ । मंगलबार भीमदत्त नगरपालिकाले चार महिनाको अवधिमा गरेको कोडिभ खर्चको विवरण सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्टद्वारा हस्ताक्षरित गरिएको विवरण पत्रमा विभिन्न ८ शिर्षकमा एक करोड ६९ लाख, ४७ हजार, ४ सय २९ रुपैया खर्च भएको छ ।
स्वास्थ्य समाग्री (मास्क, ग्लोब्स, सेनिटाईजरमा ४७ लाख, २९ हजार, ३ सय १८, सचेतनामुलक सन्देश प्रकासनमा १३ लाख, ६६ हजार, ४ सय ५६, अस्पताल पुर्वाधार विकासका लागि ३ लाख, ४१ हजार, ८ सय २३, क्वारेन्टाईन आईसोलेशन संचालन एव व्यवस्थापनमा ३८ लाख, १७ हजार, ४ सय ४६, राशनमा ६० लाख, ५६ हजार, २ सय १४, यातायात(नाकाबाट होल्डिङ्ग सेन्टरसम्म सम्बन्धीत क्वारेन्टाईनसम्म, क्वारेन्टाईनबाट कोरोना जाँचका लागि लैजाने ल्याउने समेत)मा ३ लाख, ७२ हजार, ८ सय, सेनिटाईजर ट्याङकी खरिद, २ लाख, ३९ हजार, ९ सय ९७, विविध २३ हजार, ३ सय ७५ रुपैया खर्च भएको सार्वजनिक गरेको हो । कोरोना रोकथामका लागि अनियमितता भएको जनगुनासो बढ्दै गएपछि भीमदत्त नगरपालिका सहितका केही स्थानीय तहले धमाधम खर्चको विवरण सार्वजनिक गर्दै छन् । केहीले गर्ने तयारी थालेका छन् ।
विश्वमै फैलिएको कोरोना महामारी रोकथामका लागि भीमदत्त नगरपालिकाले शुरुमै ०७६ फागुन २३ देखि सीमा नाका गड्डाचौकीमा हेल्पडेस्क स्थापना गरेर खटिएको थियो । कञ्चनपुरका स्थानीय तहले कोरोनाका नाममा दुवै हातमा लड्डु पाएको आरोप लगाईरहेका छन्, भने केहीले स्थानीय तहले जोखिम मोलेर रोकथाम निन्त्रणमा भूमिका निर्वाह गरेको विश्लेषण गरिरहेका छन् ।