Thursday, December 2, 2021
गृहपृष्ठ अन्तर्वार्ता यसकारण मलाई महिलाविरुद्ध बोल्ने अधिकार छैन !

यसकारण मलाई महिलाविरुद्ध बोल्ने अधिकार छैन !

दानबहादुर सुनार,
शान्तिपूर्ण समाजको चाहना राख्ने हाम्रो मस्तिष्कमा पुरुषवादी सोचले जरा गाडेकाले आफ्नै घर शान्त राख्न सकिरहेका हुँदैनौ । बाहिर आदर्शका कुरा गर्ने व्यक्तिहरु पनि भित्रभित्रै पितृसत्तात्मक सोचलाई बढावा दिइरहेको पाउन सकिन्छ।  जब हामी कसैको भावनामाथि खेलबाड गर्न थाल्छौ तब देखि अशान्तिको विजारोपण शुरु हुन थाल्छ ।

भावनात्मक चोटले दिने पीडा असह्य हुन्छ। मानवीय मर्यादाको सीमा नाघी लादिने निरंकुश शासन शैली हाम्रै घर परिवारबाट शुरु भएको हुन्छ । भनाई र गराइको तालमेल नमिल्दा व्यवहारिक जीवनमा टकरावको स्थिति पैदा हुन थाल्छ । यी र यस्तै प्रकारका परिवेश र परिघटनाको शिकार महिलाहरु भएका छन् ।

पितृसत्तात्मक शासन शैली र पुरुषवादी सोच हाम्रै घरबाट शुरु हुन्छ । त्यही भएर अशान्ति पनि हाम्रै घरबाट शुरु हुन्छ । महिलामाथि हुने केहि हिंसा बाहिर आएका छन् भने धेरै पीडाहरु गुम्सिएर रहेका छन् । देखावटी हाँसो देखाई पीडाको सागरमा डुबुल्की मारिरहेका हुन्छन् थुप्रै छोरी बहिनीहरू ।  यी र यस्तै कारणले हाल महिलाको पक्षमा थुप्रै कानूनहरु बने।

महिलाहरुको हक अधिकारको संवोधन हुने गरी दर्जनौ कानूनहरु निर्माण भए। आरक्षणको बिषयमा समेत महिलाहरुलाई अरुभन्दा बढी सिट सुरक्षित गरियो । हिंसा, बलात्कार, मानव बेचविखन, बोक्सी, छाउपडी लगायतका बिषयमा कडा कानूनहरु बने । तर यिनै विषयहरुलाई लिएर अहिले नानाथरी कुरा हुने गरेको पाइन्छ ।

महिलाहरुले धेरै अधिकारहरू पाए । चाहिने भन्दा बढी बोल्ने भए। पुरुषमाथि रजाई गर्ने भए लगायतका नकारात्मक सोचको विकास भएको पाइन्छ । समग्रमा भन्नुपर्दा महिलाहरुको पक्षमा बनेका यथेष्ट कानुनहरूलाई पुरुषप्रधान समाजले पचाउन सकिरहेका छैनन् । मौका पाउने वित्तिकै औला ठड्याउने दुष्प्रयास गरिरहेको पाउन सकिन्छ। तर महिलाहरुले विगत इतिहासदेखि हालसम्म भोग्दै आइरहेका विभिन्न किसिमका हृदयविदारक पीडा र असमान व्यवहारलाई हेर्दा हामीलाई महिला विरुद्ध बोल्ने अधिकार छैन ।

महिलाले यो समाज र यहि समाजका पात्रद्वारा विगत इतिहासदेखि भोग्दै आएका पीडा र समाजको यथार्थ चित्रणलाई मैले यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।

अर्काकी घर जाने छोरीलाई…..

पुरुषहरु राज्यका महत्वपूर्ण निकायमा पुगेर अधिकार जमाइरहेका बेला महिलाहरु चुलो चौको र घाँस दाउरामा सिमित थिए। छोरी त अर्काकी घर जाने मान्छे हो। यिनीहरुलाई पढाउनु हुँदैन। घाँस दाउरा काट्ने, खाना पकाउने, गोबर स्याहार्ने काम मात्र सिकाउनुपर्छ भन्ने मान्यता थियो । एउटै घरमा जन्मिएको छोरा मान्छे किताब समाइ विद्यालय जान्थ्यो भने छोरीले डोको समाइ घाँस दाउरा जानुपर्ने पीडा थियो । यति गर्ने हाम्रै पुरुषवादी सोच हो ।

छोरी भएकै कारण पटक पटको भ्रूण हत्या किन ?

छोरी भन्दा छोरालाई बढ्ता प्राथिमकतामा राख्ने हाम्रै पुरुषवादी सोच हो । छोरा अनिवार्य हुनैपर्ने, बरु छोरी नभए केहि छैन भन्ने सोच राख्ने पनि यही समाज हो । एउटी महिलाले छोरा नजन्माउँदासम्म निजले दर्जनौ पटक गर्भ बोकिराख्नु पर्ने । लिंग जाँच गरी छोरी भए गर्भमै मारिदिने, पटक पटकको गर्भपतनको जोखिम मोल्न बाध्य हुनुपर्ने । अहिलेसम्म पनि यस्ता प्रकारका घृणित सोचहरु हाम्रो समाजमा जरा गाडेर बसेका छन् ।

पुरुषले अर्की ल्याउने महिलाले एक्लै बस्नुपर्ने ?

श्रीमतीको मृत्यु भएपछि पुरुषले तुरुन्तै अर्की ल्याइहाल्नु पर्ने तर महिलाले एक्लै बस्नुपर्ने ? किन स्वीकार गर्दैन हाम्रो समाजले यो कुरा । महिलाले अर्को विवाह गर्ने कुरालाई हाम्रो समाजले किन फरक दृष्टिकोणले हेर्छ ? आखिर यो पनि महिलामाथिको विभेद होइन र ?  हामीले महिला र पुरुषलाई समान अधिकारको प्रयोगबाट किन बञ्चित गर्न खोजिरहेका हुन्छौ ?

महिलालाई कमजोर ठान्ने पुरुषवादी सोच 

पुरुषको तुलनामा महिला कमजोर हुन्छन् भन्ने पुरुषवादी सोचले पनि महिलालाई दवाएर राखेको पाइन्छ । महिला माथिको हिंसा र दमनको एउटा महत्वपूर्ण कारण पनि यहि हो । शारीरिक संरचना र बौद्धिक क्षमता दुवैमा महिलाहरु पुरुषको दाँजोमा कमजोर हुन्छन् भन्ने सोचले महिलाहरु हेलाको पात्र बन्ने गरेका छन् । यसकारणले पनि महिलाहरुलाई विभिन्न अवसरबाट वञ्चित गर्ने गरिन्छ ।

घरेलु हिंसा, मानव बेचविखन र बलात्कारको शिकार

महिला भएकै कारण निजहरु घरेलु हिंसा, मानव बेचविखन र बलात्कारको पीडाबाट ग्रसित छन् । कुटपिट, हत्या र बलात्कार लगायतका विभन्न किसिमका भावनात्मक चोटबाट महिलाहरु दिनदिनै प्रताडित भैरहेका छन् । यसको कारणपनि पुरुषवादी सोच हो। महिला भएकै कारण जबरजस्ती विभिन्न किसिमका वेश्यावृत्तिमा लगाउनका लागि स्वदेश तथा विदेशमा महिलाहरुको खरिद विक्री गर्ने गरिएको पाइन्छ ??

कार्यस्थलमै यौनजन्य हिंसा

महिलाहरुले काम गर्ने स्थलमा समेत पुरुषले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी विभिन्न दवाव, प्रभाव वा प्रलोभनमा पारी कार्यस्थलमै यौनजन्य दुर्व्यवहार गरेको पाइन्छ । निजहरु आफूलाई काम गर्ने स्थानमा समेत असुरक्षित महसुश गरिरहेका हुन्छन् ।  यौनजन्य आशयले शरीरको अंग छुने,  अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र देखाउने, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गर्ने र यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिने गरिन्छ।

छाउपडी कुप्रथाले कहिलेसम्म ज्यान जोखिममा ?

धेरै स्थानमा महिलाहरुलाई मासिक धर्मको समयमा धारा, बाटो, विद्यालय, मन्दिर आदि प्रयोग गर्न नपाउनुका साथै पोषणयुक्त खानेकुराहरु दुध, दही, घ्यु आदि खान नहुने मान्यता राखिएको छ । जसका कारण : महिलाको स्वास्थ्य स्थिति कमजोर हुँदै जानुका साथै विद्यालयमा नियमित अध्ययन जानबाट बञ्चित हुने गरेका छन् भने यौनजन्य अपराधबाट प्रताडित हुने , जनावर, सर्प आदिबाट ज्यान समेत जोखिममा पर्न सक्ने देखिन्छ ।

पुरुषवादी सोचले जन्माएका महिला कानूनहरु

मैले माथि उल्लेख गरेका महिलाहरुका पीडा र रोदनका कारण समेत निजहरुको पक्षमा यथेष्ट कानूनको आवश्यक्ता परेको देखिन्छ। मानव अधिकारको विश्वव्यापी मान्यता र नेपालमै समेत महिलाहरुको हक अधिकारको लागि भए गरेका विभिन्न आन्दोलन तथा दवावले गर्दा नेपालमा हाल महिलाको हक अधिकारको पक्षमा केहि कानुनहरूको निर्माण भएको पाउन सकिन्छ ।

यी कानूनहरु निर्माण हुनुको पछाडि पुरुषवादी सोच नै प्रमुख कारण रहेको पाउन सकिन्छ । पुरुषवादी सोचबाट ग्रसित महिलाहरुका पीडामा मलम लगाउन र कसुरदारलाई कारवाहीको दायरामा ल्याउन कानुनहरूको निर्माण भएको पाउन सकिन्छ । हालसम्म नेपालमा महिला हक अधिकारको सम्बन्धमा निम्न कानूनहरु निर्माण भएको पाउन सकिन्छ ।

  • घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६
  • बोक्सीको आरोप (कसुर तथा सजाय ) ऐन, २०७२
  • मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
  • कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण ) ऐन, २०७१
  • छाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४
  • कानूनी सहायता सम्बन्धी ऐन, २०५४
  • मुलुकी अपराध संहितामा रहेको जबरजस्ती करणी सम्बन्धी कानून आदि ।

महिलाको हक अधिकारको पक्षमा बनेका कानूनहरुलाई केही पुरुषवादी सोचबाट ग्रसितहरुले सहजै पचाउन सकिरहेका छैनन् । महिला अधिकारको नाममा पुरुषमाथि चलाइएको डण्डाको रुपमा बुझ्ने गरेका छन्। महिलाहरूमाथि हुँदै आएका हिंसा, बलात्कार र बेचबिखनको मूल्य कसले चुकाउने ?  शिक्षाबाट बञ्चित गरी चुलो चौको र घाँस दाउरामा मात्रै सिमित गरेको क्षतिपूर्ति कसले दिने ? छोरी भएकै कारण गर्भमै हुने भ्रूण हत्याको हिसाब किताब कसले गरिदिने ? यी सबै अनुत्तरित प्रश्नको जवाफ दिने हिम्मत गरौ ।

लेखक– नेपाल सरकारका कानून अधिकृत हुन् । 

ताजा समाचार

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको...

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास, नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अधिबेशनकाे...

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी, नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ । पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन...

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज ३४ औं विश्व एड्स दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिवस मनाउने गरिन्छ ।...
5,613LikesLike
14FollowersFollow