काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले नेपाल बन्द सफल भएको दाबी गरेको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका हुन् ।
आन्दोलनलाई बदनाम बनाउने र जनतालाई उत्तेजित बनाउने कोसिस गरिए पनि आफूहरूको संयमताले त्यो असफल भएको विज्ञप्तिमा लेखिएको छ ।
आन्दोलनमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ । त्यस्तै नेपाल बन्दका क्रममा पक्राउ परेका अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेललगायतका नेताहरुलाई रिहा गर्न माग गरिएको छ ।
उक्त समूहले शान्तिमपूर्ण आन्दोलनमार्फत वर्तमान सरकारका प्रतिगामी कदमहरुलाई पराजित गर्नका लागि आन्दोलनमा गोलबन्द हुन अपिल गरेको छ ।