Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा रानाथारु महिला तीज तथा सांस्कृतिक कार्यक्रम

बेलडाँडीमा रानाथारु महिला तीज तथा सांस्कृतिक कार्यक्रम

बेलडाँडी,
बेलडाँडीमा रानाथारु महिला तीज तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको जनजाती यूवा क्लबको आयोजनामा चवन्नी वजारको खुल्ला मञ्चमा कार्यक्रम शुरु भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सगुना रानाको सभापतित्वमा बेलडाँडी गाउँपालिका प्रमुख हरिश चन्द्र राना प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी राना, अतिथिहरू बेलडाँडी गाउँपालिका सबै वडाका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेको जनाए । कार्यक्रमा रानाथारु भेषभुमा रहेका राना महिलाको बाक्लो सहभागिता रहेको थियो । परम्परागत राना नृत्य, डान्स, देखाइएको थियो । 

यस्तो छ रानाथारु तीज परम्परा र उनीहरुको भनाइ

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिला तथा युवतीहरूले मनाउने तीजको उद्देश्य फरक छ । उनीहरूले दाइभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला ब्रत बस्छन् । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने चलन छ ।

साउन महिनाको १ गतेबाटै ‘सावनको डोला’ खेल्दै मनाउने पर्वमा रानाथारु समुदायका महिला र युवतीहरूले तीजको दिन दिनभरि ब्रत बसेर आफ्ना दादुभाइ र भतिजाहरूको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् । उनीहरूले दिनभरि पानीसमेत नपिएर व्रत बसेर खानाको परिवार बनाउने, गीत गाउने, नाच्ने र पिंगखेल्ने गरेको सभापति सगुना रानाले जानकारी गराए ।

परापूर्वकालमा राना समुदायमा दुःखबिमार परेर पुरुष मानिसको मृत्यु र गरिबी बढेपछि महिलाहरूले भाइभतिजाहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै तीजको ब्रत बस्न थालेको रानाथारु समुदायमा विश्वास छ । त्यति बेला रानाथारु समुदायको महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको अर्चना गरेपछि समाजबाट दुःख हटेर समाजमा खुशी, सुख र शान्ति आएको किम्वदन्ती छ ।

दिनभरि ब्रत बसेका महिलाहरूले साँझ भएपछि एक साथ नदी किनारमा गएर दाभ (कुस) को बोटमा एकै हातले झुर्खी (चुल्ठी) बाँधेर त्यसमा विभिन्न परिकारलाई प्रसादको रुपमा चढाउने गरेको बेलडाँडी ५ का स्थानीय सुरेन्द्र रानाले बताए ।

पूजा गरिसकेपछि त्यसलाई उखेलेर वा चाँदीको सिक्काले काटेर नदीमा बिसर्जन गर्ने चलन रहेको छ । ‘जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाइ, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरिन्छ । नदीको लम्बाई जस्तै आफ्ना दाजुभाइ र भजिताको उमेर बढ्ने विश्वास रहेको जनाइन्छ । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाँठो र अविवाहित महिला पाँच गाँठो बाध्ने चलन छ ।

सबै भन्दा पहिले रानाथारु समुदायले पूजा गर्ने गरेको देवी बेमैयाँले तीजको ब्रत बसेकी थिइन् भन्ने गरिएको छ । रानाथारु समाजकी केन्द्रीय अध्यक्षले किम्बदन्ती बताइन्, “बेमैयाँले भाइको नाममा एउटा गाँठो बाँधेर बगाउँदा बगेन । गाँठो त्यही दुब्यो । दुई वटा गाँठो बाँधेर बगाउँदा बग्यो । फेरि एउटा गाँठो बाँधेर बगाउँदा बगेन । बेमैयाले भाइको नाममा एउटा गाँठो बनाएर बगाउने धेरै प्रयास गरिन् । कुनै पनि नबगेपछि उनी रुन थालिन् । त्यसपछि महादेवको उत्पत्ति भयो र महादेवले भजिताको नामको गाँठो समेत बाँधेर बगाउन अनुरोध गरे । बेमैयाँले भाइ र भजिताको नाममा दुई वटा गाँठो बाँधेर बगाइन् । त्यो झुर्खी लामो दूरीसम्म बग्यो । पछि गएर यो परम्पराम बन्यो ।” यसैलाई पुस्तान्तरण हुँदै जाँदा बिवाहितले सात र अविवाहितले पाँच गाँठो बाँधेर झुर्खी बगाउने चलन बसेको अध्यक्षले बताए ।

झुर्खी विसर्जनपछि आपसमा प्रसाद बाँडेर ब्रत तोड्ने चलन रहेको गोमतीले बताइन् । त्यसपछि घर आएर दिनभरि लगाएर बनाएका परिकारहरू सिमही, खुजुरिया, गुलगुला, पुरी, अचार लगायतका खाने र छरछिमेकमा बाँड्ने चलन छ ।

‘चलो सखी झुला झुलैं, सावनको डोलामे, सावन वर्षत् फुहारी, रिमझिम मेघा वरषै सावन महिनामे, सबके भिगैरे चोली लेहंगा, राधाकी अगल बगलमे सबतिर कान्हा जी हैं ।’ साथीसंगीहरूसंग भेट हुन पाएको बेला गाउने गीतको भाका बुझाउँदै एक राना महिलाले भनिन्, ‘जाउँ सखीहरू पिंग खेलौं, साउने झरीमा सबैको भिजौं । राधाको आसपास सबैतिर कृष्ण नै देखिन्छन् ।’
दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै महिलाहरूले बस्ने व्रतले पारिवारिक सम्बन्धलाई अझै प्रगाढ बनाउने गरेको राना समुदायका अगुवाहरुको बुझाइ छ ।

ताजा समाचार