बिकाश सिंह महता/ कञ्चनपुर:

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका दुई अधिकारकर्मी राष्ट्रपतिबाट विभूषित भएकी छन् ।
नयाँ वर्ष २०७८ बैशाख १ गते गृहमन्त्री बालकृष्ण खाँण अध्यक्ष रहेको विभूषण समितिको सिफारिस अनुसार पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका दुई जना अधिकारकर्मी बिहिवार राष्ट्रपतिबाट विभूषित भएका छन्। पहिचान अनुसारको नागरिकता, वैवाहिक अधिकारसहित समान अधिकारको माग गर्दै आएका दुई जना अधिकारकर्मी विभूषण सिफारिस समितिको सम्पर्कमा पुगेकाले मानपदवी प्रदान गर्न सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिएको छ। ‘पहिला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छन् भन्ने सुनिँदैनथ्यो,’पोखरेलले भने‘पहिलो पटक विभूषण समितिको सम्पर्कमा आएका उनीहरूको नाम मानपदवी प्रदान गर्न सिफारिस भएको हो।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले २२ वर्ष अगाडिदेखि अधिकार प्राप्तिका लागि संस्थागत रूपमै अभियान चलाउँदै आएका छन्। संस्थागत अभियान सुरु गर्ने नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल र अधिकारकर्मी भूमिका श्रेष्ठ पहिलो पटक राष्ट्रपतिबाट विभूषित हुने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय बनेका छन्। यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ ढकाल अध्यक्ष र श्रेष्ठ उपाध्यक्ष समेत हुन।नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) २०२२’ बाट सम्मानित समेत भएकी थिइन । उनी एलजिबिटिक्यूआई (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायको जीवनमा सुधार ल्याउने कामप्रतिको समर्पणका लागि भूमिकालाई अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको थियो।
नील हिरा समाजका संस्थापक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तलाई यसअघि सरकारले मानपदवी प्रदान गर्न सिफारिस गरे पनि उनले लिएनन्। पन्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नभई संविधान सभाका सबै सदस्यको रूपमा मानपदवी पाउने सिफारिसमा परेका थिए।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायतका मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवी विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेकी छन्। नयाँ वर्ष २०७९ सालको पहिलो दिन वैशाख १ गते राष्ट्रपति भण्डारीबाट ६ सय ७० जना विभूषित भएका राष्ट्रपति कार्यालयले जनाएको छ।
