Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमालेले उम्मेदवार सर्वसम्मत बनाउन २ गते फेरी प्रसाय

एमालेले उम्मेदवार सर्वसम्मत बनाउन २ गते फेरी प्रसाय

कञ्चनपुर,
नेकपा(एमाले) कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत बनाउन आकाँक्षीहरुबीच छलफल गर्ने भएको छ । एमाले कञ्चनपुरको चौथो जिल्ला कमिटी बैठकले उम्मेदवार सर्वसम्मत बनाउन वैशाख २ गते छलफल गर्ने निर्णय एमालेले गरेको छ ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएपछि एमाले आन्तरिक रुपमा बलियो भएर जान उम्मेदवारी सर्वसम्मत बनाउने प्रयासमा लागेको हो । त्यसका लागि जिल्ला कमिटी बैठकमा सर्वसम्मत उम्मेदवारीका लागि छलफल गर्ने निर्णय गरिएको नेताहरु बताएका छन् ।

‘बैठकमा जसरी भए पनि सशक्त रुपमा चुनावमा जानु पर्छ भन्ने आयो, त्यसका लागि आन्तरिक एकता बलियो बनाउन सबै नेताको जोड थियो’, बैठकमा सहभागी एक नेताले भने,‘त्यसका लागि उम्मेदवारी सर्वसम्मत बनाएर एक ढिक्का भएर जाऔ भन्ने भयो ।’

बैशाख २ गते स्थानीय तहका प्रमुख उप प्रमुख सहित सबै वडा अध्यक्ष र सदस्यका आकाँक्षीहरुबीच सहमतिका लागि छलफल गरी अघि बढ्ने एमालेको तयारी छ । वैशाख २ गतेपछि सर्वसम्मत भए नभए एमालेको उम्मेदवारी मापदण्ड अनुसार छनौट प्रक्रियाका लागि अघि बढाइने भएको छ ।

पालिकाको प्रमुख उप प्रमुखका लागि एक महिला सहित तीन जना प्रदेश कमिटीमा पठाउनु पर्नेछ । एमाले जिल्ला कमिटीले मापदण्ड अनुसार तीन जनालाई प्रदेश कमिटीमा पठाउने छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको वैशाख ५ गते बस्ने बैठकमा मेयर उप मेयरका नाम सिफारिश गर्नु पर्नेछ । यसैगरी वडा अध्यक्ष सदस्यको नामावली नगर कमिटीबाट जिल्ला कमिटीमा पठाइनेछ ।

एमाले जिल्ला कमिटी बैठकले वडा अध्यक्ष र सदस्यको उम्मेदजार छान्ने अधिकार जिल्ला नेतृत्व सहित पदाधिकारीलाई दिएको छ । सर्वसम्मत हुन नसकेको वडामा जिल्ला कमिटीले उम्मेदवार चयन गरी टिकट दिने भएको छ ।

 

ताजा समाचार