Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा तात्यो चुनावी माहोल, अध्यक्षका लागि कुन दलबाट क–कसको दाबी ?

बेलडाँडीमा तात्यो चुनावी माहोल, अध्यक्षका लागि कुन दलबाट क–कसको दाबी ?

बेलडाँडी,
तीन संघीय र छ प्रदेश चुनावी क्षेत्र रहेको कञ्चनपुरमा ९ वटा स्थानीय तह छन् । तीमध्ये बेलडाँडी र लालझाडी दुईवटा गाउँपालिका हुन् । सात वटा नगरपालिका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरका ९ वटा स्थानीय तह मध्ये ५ वटा एमाले २ वटा कांग्रेस र २ वटा माओवादीले जितेका थिए ।
२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आ–आफ्ना तर्क छन् । गठबन्धन वा एक्लाएक्लै चुनाव हुँदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चल्दैछ ।

नेकपा एमाले विभाजनका कारण नेपाली कांग्रेस आनन्दका साथ कञ्चनपुरमा आफ्नो बहुमत आउनसक्ने अड्कलका साथ घरघरमा नेताहरु पुग्दैछन् । नेकपा माओवादी र एकीकृत समाजवादी गठबन्धनको पर्खाइमा छन् ।

लालझाडी गाउँपालिका बाहेक नेकपा एमालेले सबै दलहरु एकातिर लागे पनि भारी मतका साथ जित्ने जिल्लास्तरीय एवम् सम्बन्धित पालिकाका नेताहरुले बताउँछन् । उनीहरुले आफ्नो पालिकालाई पुनः विपक्षीविहीन बनाउने तरिकाले प्रचार अभियानलाई तीव्रता दिएको बताए ।

एमाले नेताहरुले कञ्चनपुरको आफ्नो बिरासत कुनै हालतमा नगुम्ने बताएका छन् । त्यसका लागि नेकपा एमालेको सबै स्तरका कमिटी दिनरात खटिएको छ । कांग्रेस र माओवादी केन्द्रले आफ्नो चुनावी गतिलाई अघि बढाउन थाले पनि गठबन्धनका लागि उनीहरु अल्मलिएका देखिन्छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा थिए । माओवादी केन्द्रले आफ्नो शक्तिलाइ सकभर पहिलो नभए दोस्रो शक्तिका रुपमा सशक्त बनाउने दाबी गर्दै हिडेको छ भने नेपाली कांग्रेसले कम्युनिस्टहरु विभाजन भएको हुँदा एक्लै चुनाव लड्न कुनै समस्या नभएको बताउँदैछ । नेकपा एमाले भने आफ्नो स्थानीय सरकारले पाँच वर्षको दौरानामा गरेका विकास निर्माण र सांगठनिक सृदृढीकरणले चुनाव जित्नसक्ने तर्क पेश गर्दैछ ।

बेलडाँडीमा २०७४ को स्थानीय निर्वाचनमा उपविजेता बनेका नेपाली कांग्रेसका चन्द्र बहादुर सिह यतिबेला स्वास्थ्य अवस्थाका कारण गाउँपालिकाको टिकटबाट बञ्चित हुनसक्ने उनकै नेताहरुको भनाइ छ । गत चुनावमा समेत चर्चामा रहेका तर अन्तिममा टिकट नपाएका जनक सिह धामी कांग्रेस भित्र र बाहिर सबैका साझा क्षमतावान, द्धन्दकालमा माओवादीबाट विस्तापित पारिएका उनी वौद्धिक एवम् तार्किक नेताका रुपमा चिनिन्छन् ।

धामीको टिकटकालागि चौतर्फी चर्चा भए पनि नेपाली कांग्रेसका जिल्ला उप–सभापति हरिसचन्द्र राना, चन्द्र बहादुर सिंह, नगरसभापति गज बहादुर बिष्ट, हर्कदेब जोशी, पदम पण्डित, कृष्णा गिरी लगायतका नेताहरूले इच्छा प्रकट नगरेका होइनन् ।

एमालेमा भने नेताहरु कोही भन्दा कोही कम नभएको आफुलाई प्रस्तुत गर्दै हिडेका छन् । पुरानै अध्यक्ष धन बहादुर थापाक्षेत्री सबैका साझा उम्मेदवारका रुपमा दोहोरिने सम्भावना छ तर एमाले जिल्ला सदस्य तथा बेलडाँडी इन्चार्ज गणेश प्रसाद उपाध्याय, भिम बहादुर थापा, लक्ष्मण भाट, अक्कल बहादुर बिष्ट, बिष्णुराम उपाध्याय र कमला कार्की लगायतका नेताहरूले इच्छा प्रकट गरेको देखिन्छ ।

कांग्रेस र माओवादीको गठबन्धन भएमा माओवादीका इश्वरी प्रसाद भट्ट पालिका अध्यक्ष उम्मेदवार बन्ने दाउमा छन् । उनले बिना मगर र टेकेन्द्र भट्ट मार्फत लबिङ गर्दै आएको उनी निकट नेताहरुको भनाइ छ । माओवादी २०७४ सालको निर्वाचनमा एक वडा नजितेको हुनाले सांगठनिक रुपमा बेलडाँडीमा कम्जोर देखिन्छ तर गठबन्धन गर्ने हो भने कुनै वडा पाउने दाउको पर्खाइमा समेत बसेको देखिन्छ ।
यस्तै अन्य पार्टीहरुले समेत आफ्ना उम्मेदवारको टुङ्गो लगाउने अभ्यासमा देखिएका छन् ।

ताजा समाचार