Thursday, August 18, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारआज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

बेलडाँडी,
आज ८ मार्च अर्थात् ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइनुका साथै नेपालमा समेत विभिन्न कार्यक्रमका साथ महिलाहरुले उत्सव मनाएका छन् ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् र सम्मेलनले यसलाई पारित गरेको थियो। त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउने थिति बसेको हो।

नेपालमा पनि ‘सामाजिक न्याय र लैङिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने यस बर्षको मुख्य नाराका साथ नारी दिवस मनाइएको छ । नेपालमा वि.सं.२०१६ सालमा प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो ।

आज महिलाहरुले उत्सवका रुपमा विभिन्न कार्यक्रम, र्याली, गोष्ठी, अन्तरकृया, नृत्य, बादबिवाद, देउडा लगायतका कार्यक्रम गरेर मनाएका छन् । यस्तै बेलडाँडी गाउँपालिकाका महिलाहरुले विभिन्न ठाउँमा महिलाहरुको पक्षमा वकालत गर्दै दिवस मनाएको खवर प्राप्त भएको छ । बेलडाँडी गाउँपालिकाले महिला तथा बालबालिका शाखाको आयोजनामा स्थानिय संघ संस्था संगको हातेमालो गर्दैं कार्यक्रम मनाएको छ भने नब दुर्गा महिला कल्याण संघकी अध्यक्ष शान्ती नाथको सभापतित्वमा रौलेश्वर क्याम्पसको प्राङगणमा विभिन्न सामाजिक व्याक्तित्वहरुलाई सम्मान गर्दै कार्यक्रम मनाएको छ ।

यस्तै अखिल नेपाल महिला संघ बेलडाँडी गाउँपालिकाकी अध्यक्ष विमला भट्टको अध्यक्षतामा बेलडाँडी वडा नं.५ को गौडीमा देउडा कार्यक्रमको आयोजना गर्दै कार्यक्रम मनाइ रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्षको सचिवालयले जनाएको छ ।

नेपाली महिला पछि किन ? यो पनि पढ्नुस

हामी वर्षौंदेखि आकर्षक नारा तय गर्न मात्र केन्द्रित भइरहेका छौँ । महिला दिवसका अवसरमा शहरबजारमा केही महिला जम्मा भएर गोष्ठी र सेमिनार गरेकै भरमा मात्र महिलाले भोगेका समस्या समाधान हुने होइनन् । जुन समाजमा महिलालाई पुरुषसरह अवसर र अधिकार प्राप्त छ, त्यो समाजले नै धेरै उन्नति गरेको देखिन्छ ।

नारी र पुरुषलाई एउटा रथका दुइटा पांग्राको उपमा यसै दिइएको होइन । संख्याका हिसाबले समाजमा बराबरी हिस्सेदारी भएका नारीलाई अवसर र अधिकार पनि बराबर नै दिनुपर्छ । देशको आधाभन्दा बढी जनसंख्या भएका महिलालाई अवसरबाट वञ्चित गरेर, उनीहरूलाई अगाडि बढ्नबाट रोकेर देशको विकास सम्भव छैन । आधाभन्दा बढी जनसंख्या चुलोचौकोमा मात्रै सीमित हुने अवस्था कायम रहँदासम्म हाम्रो विकासको गति तीव्र हुन सक्दैन । महिलालाई पनि अवसर र मौका दिएर देश विकासमा सक्रिय बनाउनुपर्छ ।

वर्षमा एक दिन महिला दिवस मनाएर मात्र हामीले महिलाका हक–अधिकार स्थापित गर्न सक्ने अवस्था छैन । ३ सय ६५ दिनै महिलाका अधिकारमा निरन्तर आवाज उठाउनुपर्ने अवस्था छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिबाट महिलाहरू पीडित हुने क्रम बढ्दो छ । महिलामाथि हुने हिंसा र अत्याचारका घटना वृद्धि भइरहेका छन् । त्यसैले हामीले हरेक दिन महिला अधिकारका पक्षमा आवाज उठाइरहनुपर्ने स्थिति छ । छोरीलाई सानैदेखि छोरासरह अवसर दिएर उसको पढाइमा विशेष ध्यान पुर्याउन सकियो भने ऊ पछि गएर सक्षम महिला बन्न सक्छे । छोराछोरीबीच भेदभाव गर्ने, छोरीलाई कम महत्व दिने तर छोराले भनेजति सबै पुर्याइदिने काम आमाबाबुबाटै हुने गरेकाले पनि छोरीहरू पछि परिरहेका छन् । महिलाले कुनै गल्ती गरिन् भने पुरुषहरूले उनलाई टिकिखान दिँदैनन् । तर, पुरुषले कुनै काम बिगारेमा भने महिलाहरूले सहेर बस्नुपर्ने हुन्छ । महिला भनेका कमजोर नै हुन्छन् भन्ने पुरुष मानसिकतामा परिवर्तन हुन जरुरी छ ।

नेपाली महिलाका मुख्य समस्या भनेको उनीहरूले गर्ने कामले मान्यता पाउन नसक्नु हो । घरधन्दा गर्ने, बच्चा हुर्काउने, श्रीमानलाई सहयोग गर्नेलगायत थुप्रै महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने महिलाले गरेका धेरै कामको गणना हुँदैन । एउटी महिलाले घरधन्दामा बिताएको समयलाई उसको आयआर्जनसँग जोड्ने कुनै संयन्त्र छैन । एउटा पुरुष घरबाहिर निस्केर दुईचार हजार कमाएर घर फर्किंदा पनि उसले कमाइ गरेको ठहर्ने तर महिलाले घरमा बसेर घण्टौँ श्रम गर्दा पनि उसको श्रमको मूल्यांकन नहुने अवस्थाले गर्दा नेपाली महिलाहरू पछि परिरहेका छन् । आफ्नो काम गणनामा नपर्दा महिलाको शिक्षा, उनीहरूको आत्मसम्मान, सीप तथा क्षमता विकास लगायतमा असर परिरहेको छ ।

प्रतिभाशाली, सक्षम र हिम्मतिला महिला प्रशस्तै छन् । शहरमा मात्र होइन गाउँमा पनि यस्ता महिला छन् । तर, उनीहरूले अवसर नपाएका कारण आफूमा भएको हिम्मत देखाउन पाएका छैनन् । महिला सशक्तीकरणका लागि उनीहरूलाई आरक्षण दिएर हरेक क्षेत्रमा अघि बढ्न प्रोत्साहित गरिनुपर्छ । सयौँ वर्षदेखि वञ्चितीकरणमा परेका महिलालाई प्रतिस्पर्धाका आधारमा मात्र अघि बढ्नुपर्छ भनियो भने ८० वर्षीय वृद्ध र २५ वर्षीय युवाका बीच दौड प्रतियोगिता गरेको जस्तो हुन्छ । त्यसैले, निश्चित अवधिसम्म क्षमता विकासका लागि महिलालाई थप आरक्षणको व्यवस्था गर्नुपर्छ । संवैधानिक तथा कानुनी रूपमा आरक्षणको व्यवस्था लागू पनि भएको छ । यसलाई पूर्ण कार्यान्वयनका लागि सम्बन्धित पक्षले बढी ध्यान दिनुपर्छ ।

महिलालाई क्षमता अनुसारको अवसर प्रदान गर्नुपर्छ । कामकाजी महिलाले पनि घरायसी काम गरिरहेका हुन्छन् । जागिर वा पेशा नभएका महिला त झन् पूरा समय घरायसी काममै हुन्छन् । तर, घरायसी कामको आर्थिक तथा सामाजिक मूल्यांकन नहुदा पछाडी परेका छन् ।

ताजा समाचार