Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीभारतबाट माछा तस्करी हुँदा नेपाली माछा पालक किसान मारमा

भारतबाट माछा तस्करी हुँदा नेपाली माछा पालक किसान मारमा

कञ्चनपुर,

भारतबाट धमाधम माछा तस्करी हुँदा कञ्चनपुरका नेपाली माछा पालक किसान मारमा परेका छन । भारतबाट गुणस्तहिन माछा तस्करीले कञ्चनपुरका माछा पालक किसान मारमा परेका हुन ।

भारतबाट आउने गुणस्तहिन माछा सस्तो भएकाले व्यवसायीले भारतबाट तस्करी गरेर माछा ल्याएर बेच्दा किसान मारमा परेका हुन । कानुनी रुपमा भन्सार भएर क्वारेन्टाईन गरेर मात्रै माछा भित्र्राउन पाउने भएपनि तस्कर समुहले अन्यन्त्र खुला नाकाबाट तस्करी गराउँदा नेपाली किसानको माछा बिक्रि भएको छैन ।

बेलडाँडी गाँउपालिका २ ढकनीयका माछा पालक किसान सन्तोष विष्टले भारतबाट तस्करी हुने माछाका कारण स्वदेशका किसान मारमा परेको बताए । विष्टले २५कट्टामा पोखरी बनाएर माछा पालन गरेका छन । ‘भारतबाट तस्करी भएर आउने माछाका कारण हामी स्वदेशी माछा पालक कृषक मारमा परेका छौँ, ‘उनले भने, ‘गैर कानुनी रुपमा तस्करी हुने माछा रोक्नका लागि सरकारी निकायसंग धाउँदा पनि तस्करी रोकिएन ।’

माछा उत्पादन गरेपछि बजार नभएका कारण सस्तोमै बेच्नुपर्ने बाध्यता आएको उनले बताए । बेलडाँडी ढकनियाकै अर्का किसान मिन बहादुर खडायतले पनि भारतबाट तस्करी भएर आउने माछाका कारण स्वदेशी किसानले बजार नपाएको बताए । ‘भारतबाट धमाधम तस्करी भएर माछा आउँछन, ‘उनले भने, ‘सीमा क्षेत्रमा कसैले रोक्दैन, भारतबाट आउने माछा र हाम्रो माछाको मुल्यमा फरक हुँदा व्यवसायीले हाम्रो माछा किनिदिदैन ।’ कठायतले १ विगाहमा माछा पालन गरेका छन । ‘देशमा तीन सरकार छन, ‘उनले भने, ‘माछा पालन किसानलाई कसैको सहयोग छैन, तस्करी पनि रोकिएको छैन ।’

तस्करी नरोकिनुमा सीमा क्षेत्रमा रहेका प्रहरी तस्करसंग मिलोमतो रहेको उनको आरोप छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले भारतबाट तस्करी भएर आउने माछा बारे कार्यालयलार्ई कुनै गुनासो नआएको बताए । ‘भारतबाट माछा ल्याउन पाईन्छ, तर क्वारेन्टाईन र भन्सार गर्नुपर्छ, ‘उनले भने, ‘गैर कानुनी रुपमा माछा ल्याउन मिल्दैन त्यो रोक्ने काम सम्बन्धीत प्रहरीको हो ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा झण्डै १सय ५० किसानले अढाईसय हेक्टरमा माछापालन गरेका छन । आर्थिक उन्नती आत्मनिर्भरताका लागि स्वदेशी किसानलाई उत्पादनका काममा लगाउनुपर्ने जानकारहरुको भनाई छ । भारतबाट तस्करी भई आउने माछामा तस्कर समुह र सीमा लाईन खाने प्रहरीको मात्रै भलो हुने भएकाले स्वदेशमै बस्तु उत्पादनका लागि कार्यक्रम ल्याउनुपर्ने सुझाव दिदै सीमा क्षेत्रबाट गैर कानुनी रुपमा मात्र मात्र होईन एक सुई समेत छिर्न नदिनुपर्ने भनाई छ ।

ताजा समाचार