Tuesday, August 16, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारएमसीसी पास गर्न अघि बढे देउवा, अल्मिलिए प्रचण्ड – माधव, गठवन्धले साथ...

एमसीसी पास गर्न अघि बढे देउवा, अल्मिलिए प्रचण्ड – माधव, गठवन्धले साथ नदिए एमालेले साथ दिने देउवाको विश्वास

काठमाडौं,
सत्तासीन नेपाली काँग्रेस अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न अघि बढेको छ । काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकमार्फत एमसीसी कुनै हालतमा टेबल गर्ने निर्णय लिएको हो । काँग्रेसको यस्तो निर्णयसँगै अब नेकपा माओवादी केन्द्रलाई सरकारमा बसिराख्न अप्ठ्यारो परेको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो दुई साता सत्ता गठबन्धन र पार्टीलाई एमसीसी केन्द्रित बनाएका छन् । गठबन्धन नै टुटे पनि एमसीसी संसदमा टेबल गर्ने र पास गर्ने कुरामा काँग्रेस एकमत भएको छ । मंगलबारदेखि संसदभित्र र बाहिरबाट काँग्रेस सशक्त रुपमा एमसीसीको पक्षमा उभिएको छ ।

काँग्रेसका नेता तथा कार्यकर्ता पंक्ति एमसीसीको बचाऊमा मैदानमा उभिएको अवस्था छ । एमसीसीको मौन समर्थन जनाउने केही नेता तथा कार्यकर्ता पनि मंगलबारदेखि खुलेर एमसीसीको पक्षमा उभिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र कानुनमन्त्री दिलेन्द्र बडू एमसीसी संसदसम्म पुर्याउने देउवाको बलियो सारथी बनेका छन् । महामन्त्री गगन थापाले पनि खुलेर एमसीसीको पक्षमा बोल्न थालेका छन् ।

योबीचमा सत्ता साझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई एमसीसीको पक्षमा उभ्याउन मंगलबारसम्म देउवा असमर्थ रहे । तथापि एमसीसी संसदमा टेबल गर्ने गरी काँग्रेसले ‘मुभमेन्ट’ भने अघि बढाएको छ । काँग्रेसको यस्तो ‘मुभ’ का कारण अब प्रचण्ड र माधव नेपाल या त एमसीसीको पक्षमा उभिनुपर्ने, या सरकारबाट बाहिरिनुपर्ने पोजिसनमा आइपुगेका छन् ।

फागुन १६ गतेसम्म एमसीसी पास गर्न अमेरिकाले ताकेता दिएपछि काँग्रेस निर्णायकरुपमा मैदानमा उत्रिएको हो । यसले सभामुख अग्निप्रसाद सापकोटामाथि एमसीसी टेबल गराउनैपर्ने बाध्यता खडा भएको छ । प्रधानमन्त्री देउवाले कुनै हालतमा एमसीसी पास गराउने मुडमा पुगेपछि सभामुख सापकोटा पनि चर्को दबावमा परेका छन् ।

प्रधानमन्त्री देउवाले संसदीय दलको बैठककै बीचबाट सभामुखलाई फोन गरेर एमसीसी अगाडि बढाउने विषयमा बाधक नबन्न चेतावनीपूर्ण भाषामा आग्रह गरेका थिए । यसलगत्तै काँग्रेसले संस्थागत रुपमै सभामुखमाथि दबाब सिर्जना गरेको छ ।

राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको एमसीसी संसदमा प्रस्तुत गराउन र छलफल गराउन सभामुखले कुनै बाहनामा रोक्न नमिल्ने काँग्रेसले चेतावनी दिएको एक नेताले बताए ।

मंगलबार संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख छैन । थारु आयोगको तेस्रो बार्षिक प्रतिवेदन पेश गर्ने र तीनजना दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । तर, काँग्रेसले भने एमसीसीलाई कार्यसूचीमा राख्नैपर्ने दबाव दिएको छ ।

एमसीसी होला त टेबल ?

सरकारले कार्यव्यवस्था परामर्श समितिमार्फत एमसीसीको एजेण्डा प्रवेश गराउने भएको छ । प्रधानमन्त्री देउवाको आग्रहपछि बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका एजेण्डा तय गर्न सभामुख सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

काँग्रेस सचेक पुष्पा भुसालले कार्यव्यवस्था परामर्श समितिबाट एमसीसी आज बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा पर्ने आशा व्यक्त गरिन् । उनले भनिन्, ‘एमसीसी आज कार्यव्यवस्था परामर्श समिति​मा पेस हुन्छ । संसदमा टेबल हुने सम्भावना छ ।’

दोधारमा प्रचण्ड र माधव नेपाल

सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले एमसीसीमा साथ दिने–नदिने टुंगो छैन । यीमध्ये पनि माओवादीले सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ भने माधव नेपाल प्रायः मौन छन् ।

काँग्रेसका एक सांसदका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी पास गर्ने कुरामा सकारात्मक नै छन् । उनले सोमबारको सर्वदलीय बैठकमा पनि एमसीसी पास गर्ने विषयमा लचकता देखाएका थिए । तथापि, उनको पार्टीभित्र झलनाथ खनाल लगायतका नेताहरु एमसीसीको विपक्षमा दृढ छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरेका थिए । शनिबार र आइतबार विहानको बालुवाटार छलफलमा एमसीसी टेबल गर्ने विषयमा सकारात्मक देखिएका प्रचण्डको सोमबारदेखि मुड फेरिएको काँग्रेस नेताहरु बताउँछन् । प्रचण्ड र माधव नेपालले एमसीसी पास गर्न साथ नदिए सत्ता गठबन्धनको औचित्य सकिने काँग्रेस नेताहरुको बुझाइ छ ।

‘हामी एमसीसी पास गर्न अगाडि बढिसक्यौं । उहाँहरुले साथ दिनुभएन भने गठबन्धनको औचित्य सकिन्छ,’ काँग्रेस एक नेताले रातोपाटीसँग भने, ‘त्यसपछि के हुन्छ, अहिले भन्न सकिँदैन ।’

ती नेताका अनुसार काँग्रेससँग चुनावी गठबन्धनको लक्ष्य राखेका माओवादी र एकीकृत समाजवादीले एमसीसीमा खेल्ने भूमिकाले नै वर्तमान राजनीति र गठबन्धनको भविष्य निर्धारण गर्नेछ । त्यसैले, एमसीसी सम्झौताको विभिन्न प्रक्रियामा सहभागी भएको माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालगायतका राजनीतिक दलले पनि अनुमोदनमा सहयोग गर्ने काँग्रेस नेताहरुको अपेक्षा छ ।

एमालेबाट आश

काँग्रेसको कार्यसम्पादन समिति बैठकले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेकाले संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्षी एमालेले सहयोग गर्ने आशा राखेको छ ।

अहिलेसम्म काँग्रेस, जसपा र लोसपा एमसीसीको पक्ष देखिएका छन् । यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादीले आजै संसदीय दलको बैठक डाकेका छन् । उनीहरुको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवाले काँग्रेस संसदीय दल र कार्यसम्पादन समितिमा एमसीसी पास हुने ढुक्कका साथ बिफ्रिङ गरेका थिए । गठबन्धन जोगाउने प्रचण्ड—माधवको स्वार्थ र फुटाउने ओलीको दाउका बीच एमसीसी पास हुनेमा देउवा ढुक्कजस्तै रहेको काँग्रेस नेताहरु बताउँछन् ।

सर्वदलीय बैठकपछि काँग्रेस महामन्त्री गगन थापाले सभामुखसँग परामर्श भएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी टेबल हुनेमा विश्वास व्यक्त गरेको सुनाएका थिए । थापाको भनाइ छ, ‘प्रधानमन्त्रीज्यूले विश्वास व्यक्त गर्नुभएको छ कि संसदमा एमसीसी टेबल हुन्छ र पास पनि हुन्छ ।’

ताजा समाचार