Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीनेकपा भिमदत्तले मनायो २७ औं जनयुद्ध दिवस

नेकपा भिमदत्तले मनायो २७ औं जनयुद्ध दिवस

महेन्द्रनगर,

नेपाल कम्युनिस्ट पार्टीले महान २७ औं जनयुद्ध दिवसको अवसरमा भिमदत्त नगर पार्टीको आयोजनामा नगरको महेन्द्रनगरमा दिप प्रज्वलन गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय समाजवादी मञ्चका अध्यक्ष डिडि पाण्डेले सम्बोधनगर्दै महान जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिका सहिदहरुको अपुरा सपना पूरा गर्ने अभिभारा हाम्रो काधमा आएको बताए ।

सोही कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिव बिरेन्द्र शाह लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टी नगर सचिव दिपेन्द्र ऐरीले जानकरी गराउनु भयो । उहाँका अनुसार जनयुद्धहरुले देखाएको बाटोमा सबैले लाग्नु पर्ने बताउदै संसदिय व्यवस्थाले आम नागरिकको भलो नुहने भएकाले यो व्यवस्था परिर्वतनका लागि सबैले जाग्नु पर्ने धारणा व्यत्त गर्नु भयो ।

के थियो १० बर्षे जनयुद्ध

२०५२ साल फागुन १ गते अर्थात् नेपालमा जनयुद्ध सुरुआत भएको दिन । सत्ताईस वर्षअघि ‘विद्रोह जनताको अधिकार हो । प्रतिक्रियावादी राज्यसत्ता अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ नेपालमा राजतन्त्रात्मक सामन्ती राज्यव्यवस्थालाई ध्वंस गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्ध सञ्चालन भएको थियो । त्यसैले हरेक वर्ष फागुन १ गतेको दिनलाई नेपालका क्रान्तिकारीहरूले ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका हुन् ।

‘एक झिल्को आगोले संसार डढाउन सक्छ’ भनेझैँ सानो शक्तिबाट सुरुआत भएको सशस्त्र क्रान्ति दिनप्रतिदिन विकास गर्दै दस वर्षमा राज्यव्यवस्थालाई नै चुनौती दिन सफल भएको थियो । संसारका सबै सत्ताधारीले सुरुमा विद्रोह र क्रान्तिकारी शक्तिलाई जहिले पनि कमजोर आँकलन गर्ने गर्दछन्, पत्याउँदैनन् र बेवास्ता गर्छन् । जब त्यही विद्रोह राँको बनेर राज्यव्यवस्थामा डढेलो लाग्न थाल्छ अनि मात्र शासकले विद्रोही शक्तिलाई स्वीकार गर्छ र दमनको सहारा लिन पुग्छ तर विद्रोह कति शक्तिशाली भइसकेको हुन्छ भने कुनै पनि दमनका हथकण्डाले क्रान्ति रोकिँदैन । झन्पछि झन् अघि बढ्छ अनि ढिलो वा चाँडो कि विद्रोहीसँग सम्झौताको हात बढाउनुपर्ने वा शासक आफैँ शासनसत्ता गुमाउन तयार हुनुपर्छ । यो विश्वइतिहासकै कटु सत्य हो ।

जनयुद्धको सवालमा पनि त्यही भयो । कतिले गुलेली चलाउन नजान्नेले बन्दुकको कुरा गर्ने रु भन्दै हाँसोमा उडाए भने तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले जनयुद्धलाई तीन महिनामा समाप्त पार्ने घोषणा गरेका थिए । सरकारले माओवादी जनयुद्धविरुद्ध किलो सेरा टु, कर्डेन एन्ड सर्च अप्रेसन, कम्बिङ अप्रेसन, सर्च एन्ड डिस्ट्रोयलगायत विभिन्न फौजी अप्रेसन चलाएको थियो । तत्कालीन प्रहरी शक्ति माओवादीबाट पराजित भएपछि गिरिजाप्रसाद कोइरालाले माओवादीविरुद्ध शाहीसेना परिचालनको तयारी गरेका थिए तर तत्कालीन राजा वीरेन्द्र माओवादीविरुद्ध सेना परिचालन गर्न तयार भएनन् र सेना परिचालनको अनुमति दिएनन्, बरु वार्ताबाट समस्याको समाधान गर्नुपर्ने अडान लिए । त्यसपछि अर्धसैनिक बलका रूपमा सशस्त्र प्रहरी बल गठन गरी माओवादीविरुद्ध परिचालन भयो । तैपनि माओवादी जनयुद्ध निस्तेज भएन ।

२०५८ सालमा राजा वीरेन्द्रको वंशनासपछि देशमा सङ्कट झनै गहिरिँदै गयो । सरकारले सङ्कटकाल घोषणा गर्यो र सेना परिचालन गर्यो । राज्यले माओवादीलाई आतङ्ककारी घोषणा गरी नेताहरूको टाउकाको मूल्य तोकेर जिउँदो वा मरेको अवस्थामा ल्याउनेलाई लाखौँ पुरस्कार दिने घोषणा गर्यो । राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपबाट समेत राजनीतिक, आर्थिक र अनेकौँ आधुनिक हातहतियार र सैन्य सहयोगसहित माओवादीलाई समाप्त पार्न अन्तर्राष्ट्रिय शक्ति केन्द्रसमेत लागिपरे । तर पनि तत्कालीन शाहीसेनाले पनि माओवादी जनयुद्धलाई समाप्त गर्न सकेन । बरु माओवादी जनमुक्ति सेनाले शाहीसेनाकै ब्यारेकमा आक्रमण गर्न थाले र सरकारी सेनाका अत्याधुनिक हतियार खोस्ने तथा थप शक्तिशाली हुने क्रममा वृद्धि भयो । झन् उच्च सैन्य संरचना र राजनीतिक सङ्गठन घोषणा गर्दै जनतामा समेत झाङ्गिन पुग्यो । उता दुईपटक औपचारिक रूपले वार्ता भए पनि माओवादीका तर्फबाट राखिएको गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचन गर्नुपर्ने माग सरकारले अस्वीकार गरेपछि वार्ता असफल हुन पुग्यो ।

वीरेन्द्र वंशनाश गरी सत्तासीन भएका तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’ गरी सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि संवैधानिक राजतन्त्र र संविधान मान्दै माओवादीविरुद्धमा रहेका नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायत अन्य राजनीतिक पार्टीहरू पनि माओवादीसँग हातेमालो गर्दै राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्न र संविधानसभाको निर्वाचन गर्न तयार भए । जसको परिणाम २०६२ मा नेकपा माओवादी र सात राजनीतिक पार्टीबीच १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । यसबीचमा करिब दस हजार योद्धाको बलिदान भयो । हजारौँ बेपत्ता भए । दसौँ हजार घाइते र अपाङ्ग बने । यसरी जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ सम्पन्न भयो र नेपालमा करिब साढे दुई सय वर्षको राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । माओवादी पार्टीको सिद्धान्तसँग पूर्ण रूपमा सहमत नहुने तर आज आफूलाई लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिक भएकोमा गौरव गर्ने जो कसैले पनि नेपालमा माओवादी जनयुद्धबिना लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव थिएन भन्ने ऐतिहासिक तथ्यलाई स्वीकार गर्दछन् किनभने जनयुद्ध र जनआन्दोलनको संयोजनबाटै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।

ताजा समाचार