Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीभारतमा ओमिक्रोनको त्रास, पश्चिम सीमानाकाबाट स्वदेश फर्किने दिनप्रतिनि बढ्दै

भारतमा ओमिक्रोनको त्रास, पश्चिम सीमानाकाबाट स्वदेश फर्किने दिनप्रतिनि बढ्दै

कञ्चनपुर,
कोभिड–१९ को जोखिम बढेसँगै भारतबाट पश्चिमी नाका हुँदै नेपाल फर्कनेहरुको संख्या दिनप्रतिनि बढ्दै गएको छ । भारतमा संक्रमण दर ह्वात्तै बढेपछि गड्डाचौकी, त्रिनगर र गौरीफन्टा नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो। पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढ/दुई हजार नागरिक स्वदेश फर्किरहेका छन्। भारतबाट फर्कनेको संख्या बढेसंगै यहाँ संक्रमण दर पनि बढेको छ।

भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको छ, भने कोरोना भाइरसविरुद्धको खोप पनि लगाउन थालिएको छ। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा सीमामा मात्र भारतबाट फर्किएका नेपालीको कोरोना परिक्षण हुँदै आएको छ। दुवै जिल्लाका अन्य सीमा नाकाहरुमा भने कोरोना परीक्षण हुँदैन। गौरीफन्टा र गड्डाचौकीमा संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसमा राख्ने गरिएको छ भने अन्यलाई सिधै घर जाने अनुमति छ।

नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि नभएर केही दिनपछि हुने सम्भावना पनि रहेकाले संक्रमण समुदायस्तरमै बढ्ने चिन्ता गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका अन्य सीमा नाकाहरुमा पनि कोरोना परीक्षणको व्यवस्थापनमा लागेको बताए। उनले भने, ‘गौरीफन्टा–त्रिनगरमा कोरोना परीक्षण हुँदै आएको छ, खक्रौला लगायतका नाकाहरुबाट पनि नेपाल फर्किदैछन्। उहाँहरुको कोरोना परिक्षण गर्ने व्यवस्था मिलाउदैछौ। साथै उनले सीमा क्षेत्रमा निर्माण थालिएका होल्डिङ्ग सेन्टर चाँडो निर्माण गर्न नेपाली सेनालाई पत्राचार गरेको समेत बताए।

गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा एन्टिजेन पोजेटिभ देखिएकाहरुको व्यवस्थापनमा पनि समस्या देखिएको छ। सीमा क्षेत्रमा एक मात्र एम्बुलेन्स र संक्रमितको संख्या धेरै भएकाले व्यवस्थापनमा समस्या हुँदै आएको हो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सीमा क्षेत्रको व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग छलफल भएको बताए। उनले भने, ‘सीमा क्षेत्रको परीक्षण अझै प्रभावकारी बनाउदैछौं। पोजेटिभ देखिएकालाई आइसोलेनमा पठाउदैछौं। अस्पतालका आइसोलेसन भरिने देखिएको छ। स्थानीय तहका पुराना आइसोलेसन तयारी राख्न भनेका छौं।’ उनले प्रदेश सरकार र संघीय सरकारलाई सहयोगको अपिल पनि गरेको जानकारी दिए।

ताजा समाचार