बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा पछिल्लो समय जंगली हात्तीले निकै आतंक मचाइ रहेको छ । गए राती बेलडाँडी गाउँपालिका वडा नं.२ मा जंगली हात्तीको आक्रमणमा परि एक जना घाइते भएका छन् ।
करिब राती १ बजेको समयमा जंगली हात्तीको बथान गाउँमा पसी राम बहादुर बोगटीको घर भत्काइ पुर्ण रुपमा क्षति पुर्याउनुका साथै उनकी ४५ बर्षिय श्रीमती राधा देवी बोगटीलाई घाइते बनाएको छ । उनी सुतेकै बेला हात्तीले घर फाल्दा भाग्न खोज्दा घाइते भएकी हुन् ।

घरमा भण्डारण गरेर राखेको अन्नबाली समेत नष्ट गरेको छ । बर्ष भरी खानको लागि भण्डारण गरेर राखेको अन्नबाली सबै सखाप पारेको पिडित बोगटीले बताउनु भयो ।
उहाँका अनुसार हात्तीले अन्नबाली नाश गरिदिदा भोकमरी निम्तिको भन्दै दुखेको पोखेका छन् । हिजो मात्र हात्तीको आक्रमणले ढक्का शिविरका एक जनाले ज्यान गुमाउनु परेको थियो ।
हात्तीले आतंक मचाएको ठाउँमा प्रशासनद्धारा अनुगमन
लगातार कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली जनावरको आतंक बढेपछि स्थानिय सरकार र कञ्चनपुर प्रशासन लगायतको टोलीले हात्तीले आतंक मचाएको ठाउँको अनुगमन गरेको छन् । जिल्ला प्रशासन कार्यालय प्रमुख रामप्रसाद पाण्डेको नेतृत्वमा शुक्लाफाँ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, शसस्त्र प्रहरी कार्यालय प्रमुख, जिल्ला अनुसन्धान प्रहरी प्रमुख, बेलडाँडी गाउँपालिका प्रमुख, वडा अध्यक्षहरु लगायतको टोलीले बेलडाँडी वडा नं.५,२, र १ नं. का हात्तीपिडितहरुलाई भेटेर हात्ती नियन्त्रणका लागि पहल भइरहेको बताउदै तत्काला हात्ती भगाउनका लागि पटाका, आवाज निकाल्ने साधन बेलडाँडी रेञ्जर पोष्ट र बेलडाँडी इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराउने बताउनु भयो ।
स्थानिय नागरिकको ज्युधनको सुरक्षाका निम्ति आफु कठिवद्ध रहेको जिल्ला प्रमुख पाण्डेले बचन दिनु भयो । हात्तीले पुर्याएको क्षतिको बारेमा चिन्ता गर्दै तत्काल राहतको व्यवस्था मिलाउनका लागि पहल गर्ने बताउनु भयो । स्थानियका पिडा सुन्दै तत्काल सो समास्या समाधान गर्नका लागि निकुञ्ज प्रमुखलाई आग्रह गर्नु भयो । अहिले टोली लालझाडी ढक्का शिविर तर्फ प्रस्थान भएको छ ।
