Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसस्तियो सरिया, घर बनाउने लागत घट्यो

सस्तियो सरिया, घर बनाउने लागत घट्यो

दसैंपछि फलामे डन्डीको भाउ एकाएक बढाएका उद्योगले अहिले भने घटाएका छन् । अन्तर्राष्ट्रिय बजारमा बिलेट र कोइलाको मूल्य घटेपछि फलामे डन्डीको मूल्य पनि घटेको उनीहरुले बताएका छन् । डन्डी उत्पादकहरुका अनुसार अहिले फलामे डन्डीको भाउ किलोमा १३ रुपैयाँसम्मले घटेको छ ।

डन्डी उत्पादन उद्योग सञ्चालन गर्दै आएको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेका अनुसार ११३ रुपैयाँसम्म उक्लिएको डन्डीको मूल्य अहिले घटेर १०० रुपैयाँ हाराहारीमा आइपुगेको छ । अन्तर्राष्ट्रिय बजारअनुसार डन्डीको मूल्य समायोजन हुँदा नेपाली बजारमा पनि सस्तिएको उनले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कोइला, बिलेटको मूल्य घटबढ हुँदा स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्य पनि पाँच सात डलर घटेको न्यौपानेले बताए ।

निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले पनि एक महिनाको अन्तरालमा डन्डीको भाउ अधिकतम ११३ रुपैयाँबाट ९८ सम्म झरेको बताए । असोजपछि पञ्चकन्या, साखः, हिमाल, हामा लगायतका डन्डी कम्पनीले डन्डीको भाउ प्रतिकिलो ११३ रुपैयाँसम्म पुर्‍याएका थिए ।

दसैंअघिसम्म उद्योगीले प्रतिकिलो न्यूनतम ९५ रुपैयाँसम्ममा फलामे डन्डी बिक्री गर्दै आएका थिए । दसैंलगत्तै अन्तर्राष्ट्रिय रुपमै ऊर्जा संकट देखियो । खासगरी कोइला उत्पादन मागअनुसार नहुँदा ऊर्जा संकट निम्तिएको थियो । अभावसँगै कोइलाको भाउ क्रमशः बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि पर्‍यो । फलस्वरुप नेपाली बजारमा सिमेन्ट, इँटा, डन्डीजस्ता निर्माण सामग्रीको मूल्य बढ्न पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य गत महिना बढेको भए पनि अहिले भने घट्दै गएको न्यौपानेले जानकारी दिए । गत महिना २४० अमेरिकी डलर हाराहारी पुगेको कोइलाको भाउ अहिले करिब ५० डलर घटेको उनले बताए । फलामे डन्डी उत्पादकले बिलेटलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्छन् । उनीहरुले इन्धनका रुपमा कोइला प्रयोग गर्छन् ।

ताजा समाचार