कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्दै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । खेलको निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढी सफल भयो।

पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाईन् । ललितपुरकी निर्मला बिकले गोल गरिन् । सम्झना लावतीको प्रहार बाहिरिदा आशा कुस्वर र रजनी थोकरको प्रहार धनगढीकी गोलकिपर उषा नाथले बचाईन् ।

पेनाल्टी अघि प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बन्चित भएको हो । खेलको १२ औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।१६ औं मिनेटमा निर्मला बिकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर बन्यो । तर, २४ औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २-१ को स्थितिमा ल्याईन ।

खेलको ३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई ३-१ को अग्रता दिलाईन्। खेलको ४९ औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३-२ को स्थितिमा ल्याईन । त्यसपछि खेलको ६४ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-३ को बराबरीमा ल्याएकी थिइन् ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधी धनगढी उपमहानगरपालिका टिमका मुख्य प्रशिक्षक राघबेन्द्र कार्की हात पारेका छन् ।
विभिन्न विधाका उत्कृष्ट गोलरक्षक उषा नाथ,उत्कृष्ट फोर्वाड चन्द्रा भण्डारी ,उत्कृष्ट मिडफिल्डर सरस्वती रोकाया र उत्कृष्ट डिफेन्सको उपाधी सिर्जना सिंहले हात पार्न सफल भइन्। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लियर अफ दि म्याच धनगढी उपमहानगरपालिका जर्सी नम्बर ४ कि रेबिका पाण्डेले गोल्डेन बुट सहित पाँच हजार पाइन् ।


उपाधिसँगै धनगढीले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेको छ । यस्तै विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा सुदूरपश्चिम प्रदेशबाट पाँच वटा पालिका महिला टिमको सहभागिता जनाएको थियो।


