Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकैलालीमा रक्सी खाएर हतियारसहित हो–हल्ला गर्ने नेपाली सेनाका मेजर पक्राउ

कैलालीमा रक्सी खाएर हतियारसहित हो–हल्ला गर्ने नेपाली सेनाका मेजर पक्राउ

धनगढी,

कैलालीको चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयले हिजो आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेको छ । प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेको हो ।

रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए ।

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेको र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् ।

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहोल त्रसित बनेको स्थानीयवासीले बताए । उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो ।  स्थानीयवासीले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुङ्गामुढा गरेका थिए ।

स्थानीयको ढुङ्गामुढाबाट प्रहरीको गाडी र कार्यालयमा समेत क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ परेका मेजर शाहीले रक्सीको नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् ।

यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् । मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

ताजा समाचार