Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबाढी कहर ः बेलौरी नगरपालिकाद्धारा बाढी पिडितलाई राहत

बाढी कहर ः बेलौरी नगरपालिकाद्धारा बाढी पिडितलाई राहत

बेलौरी,

बेलौरी नगरपालिकाका बाढी पीडित नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको छ ।
अविरल वर्षाका कारणले बेलौरी नगरपालिका भित्र अति प्रभावित वडा नम्बर २ को बैजुडाँडा, वडा नम्बर ६ का बैशाखा र भुराकोट, वडा नम्बर ८ का कानपुर, खजुवा लगायतका बस्ती डुबानको नगर प्रमुख पोतिलाल चौधरी लगायत जनप्रतिनिधी र नगरपालिकाका कर्मचारी समाजसेवीहरू लगायतका व्यक्तिहरूद्वारा अवलोकन गरी तत्काल राहत तथा उद्धारको कार्य गरिएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बेलौरी नगरपालिका क्षेत्र भित्र वडा नम्बर २ मा ५ घर, वडा नम्बर ६ मा ७७ घर र वडा नम्बर ८ मा ८० घरधुरी डुबानमा परेका छन् । त्यस क्षेत्रमा उद्धारको कार्य पश्चात् प्रारम्भिक रूपमा राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० मा मंगलबार नै उद्धार टोली खटिएको थियो । वडा नम्बर १० मा १२५ घरधुरी डुबानमा परेका छन् । डुबानमा परेका नागरिकहरूलाई नजिकका विद्यालय र चर्चमा राखी खाद्यान्नको व्यवस्था गरिएको जानकारी दिनु भएको छ ।

आइतबार साँझदेखि अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण बेलौरीका विभिन्न स्थानमा बाढी, डुबान, कटान तथा पटानले भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, तेलहन र उखु बाली तथा पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको छ । बेलौरी नगरपालिकाले विपद्बाट पर्न गएको क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयहरूलाई परिपत्र समेत गरिसकेको छ ।

क्षतिको यकिन विवरण सङ्कलन गरी राहत प्याकेज घोषणा गरिने बताइएको छ । विपद्को समयमा उद्धार कार्यमा लाग्नु हुने सबै पक्षलाई बेलौरी नगरपालिकाले धन्यवाद ज्ञापन समेत गरेको छ ।

ताजा समाचार