Friday, September 30, 2022
गृहपृष्ठविचारसंघर्ष र सफलता

संघर्ष र सफलता

रमा भण्डारी बिष्ट
रमा भण्डारी बिष्ट अहिले ५५ बर्ष पुगिन । उनि बेलडाँडी गाउँपालिका वार्ड नं. २ की महिला सदस्य हुन । १८ बर्षको उमेरमा कक्षा ८ मा पढिरहेको समयमा भिमदत्त नगर पालिका वार्ड नं. १० शुकासाल निवासी बन बिभागका सरकारी कर्मचारी ३५ बर्षिय पुरुष संग सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । उनका श्रीमानले आफ्नो उमेर र पहिलो बिवाह बारे ठगेर बिबाह गरेका थिए ।

बिवाह भएपछि श्रीमानको घरमा जाँदा उनको पहिले बिवाह भएको र श्रीमतीको मृत्यु भएको पहिलेकी श्रीमती बाट एक छोरा र एक छोरी रहेको थाहा भयो ।
म सानै थिए । श्रीमान निकै पाका उमेरका थिए । अत्याधिक मदिरा सेवन गर्ने गर्दथे । मलाई घर ब्यवहार चलाउने सम्वन्धी त्यति जानकारी पनि थिएन । बिवाहको केही समय सम्म पारिवारिक जिवन सहज रुपमा बित्यो । पछि श्रीमानले अत्याधिक मदिरा सेवनका कारणले शरीर कम्जोर भई सकेको थियो । कम्जोर शरीरका बावजुद पनि उनि अत्याधिक मदिरा सेवन गर्दथे । जसले उनलाई गलाउदै लगेको थियो । उनले उत्साहित हुदै भनिन श्रीमान मदिरा नखाएको बेलामा त निकै सरल थिए । निकै सहयोगि थिए । तर मदिरा सेवन गरेर घरमा दुख दिन्थे । प्राय जसो मलाई कुटपिट गर्दथे । मैले भागेर ज्यान जोगाउनु पर्दथ्यो । मेरो जिवन कष्ठपुर्ण कहालिलाग्दो थियो ।

प्राकृतिक रुपमै म बाट छोरा छोरी थिएनन, भएनन । घरमा सधै जसो कुटपिट हुन थाले पछि म माईतीको शरणमा आए । माईतिले मलाई बेलडाँडीमा एक कट्ठा जग्गा दिई सानो घर बनाई दिए । घर बनाए पछि मेरो श्रीमान पनि म संगै माईतीमा बस्न थाले । पछि उहाँको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भयो ।

श्रीमान सरकारी जागिरे भएपनि कहिल्यै घरमा पैसा देखाएनन । सायद मदिरा सेवनमा मात्रै सके की ? पैतृक सम्पती पहिले नै सौताको छोराको नाममा हालि सकेका थिए । सौतेनी छोरा सम्पति नपाउन्जेल म संगै बस्यो । सम्पती नाम सारी गरीसकेपछि मलाई छाड्यो र छुट्टै बस्न थाल्यो । मेरो हक पाउनु पर्ने थियो । मेरो पाउनु पर्ने अंश, भाग पनि छोराले हड्प्यो, मलाई दिएन । मेरो सवै ठाउँमा ऋण तिर्नु पर्ने मात्रै हिसाव देखायो । यसो हुदैन मलाई पनि जिवन गुजारा गर्न मेरो भागमा पर्ने सम्पती चाहिन्छ भनेर मैले अड्डी कसे । तर छोराले सुन्दै सुनेन, मिलाई दिदै दिएन । त्यस माथि छोराले म माथि जिल्ला अदालत कञ्चनपुरमा मुद्धा दर्ता गरयो र दुई तिन बर्ष मुद्धा मामिलामै समय बित्यो । मुद्धा मैले जिते पनि छोराले मेरो भागको सम्पति हड्पेर लियो । उल्टा मलाई ज्यान मार्ने धम्की दिन थाल्यो । म बिना सम्पति श्रीमानको मृत्यु पछि बिगत २१ बर्ष देखी माईती मै सामान्य एकल जिवन निर्वाह गरिरहेकी छु ।

श्रीमानको मृत्यु पछि, अलि अली फुर्सत भएपछि सामाजिक काममा लाग्न खोजे । गाउँमा र परिवारमा पनि बिभेद र हिंसा देखे । गाउँमा महिला दिदि बहीनीहरुमाथि हिंसा, बिभेद र दलित समुदायमाथि जातिय छुवाछुत र ब्यवहार देखे पछि मलाई समाजिक क्षेत्रमा सामाजिक परिवर्तनकालागि केही काम गरु जस्तो लाग्यो । मलाई आत्म प्ररेण मिल्यो । त्यसैले महिला स्वयंसेविकाहरु संग गाउँ गाँउ हिडेर गाउँका दिदि बहीनीहरुको पिर मार्काहरु र समस्याहरु बुझ्ने काम गरे । यसरी म सामाजिक काममा लागि रहेकी थिए । यसै बेला नेकपा माओवादी केन्द्रका नेताहरु संग सम्पर्क भएपछि म माओवादी पार्टी समर्थित साधारण सदस्य भएर काम गरे ।

पार्टीमा साधारण सदस्य मात्रै थिए । पछि गाउँ कमिटी सदस्य भए । केही कुरा जानेकी बुझेकी थिएन । त्यसै बेला स्थानिय तहको चुनावको चर्चा चल्यो । पार्टीले महिलालाई पनि सदस्य पदमा अनिवार्य उठाउनु पर्ने भयो । मेरो वडा बाट पार्टी कमिटी ले मेरो नाम सदस्य पदकालागि सिफारिस गरे पछि पार्टीले मलाई टिकट दियो । मैले चुनाव जिते । मेरो पढाई त्यति थिएन । चुनाव जितेपछि मेरो काम कर्तब्य कसरी पुरा गर्ने, जनताकालागि कसरी राम्रो काम गर्ने भन्ने चिन्ता लागि रहेको थियो । म अन्योलमा थिए । बैठकहरुमा सहभागि भएपनि प्रायः म बोल्दैन्थे । किनकी मलाई धेरैकुराहरु जानकारी थिएन ।

त्यसै बेला मलाई ढुङ्गा खोज्दा देउता मिले झै भयो । मैले मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले बेलडाँडी गाउँ पालिकाका निर्वाचित महिलाहरुको नेतृत्व क्षमता बिकासकालागि काम गर्ने योजना अगाढी बढाएको कुरा गाउँपालिका उपाध्यक्ष कमला कार्की बाट थाहा पाए । मैले पनि उक्त कार्यक्रममा सहभागि हुने ईच्छा देखाए । पछि संस्थाका सर मेडमहरुसंग पनि भेट भयो । उहाँहरुले मलाई मानव अधिकारकोलागि महिला एकल महिला समुह द्धारा सञ्चालन गरेको नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाले बेलडाँडीमा आयोजना गर्ने हरेक छलफल तथा बैठकहरुमा नियमित आमन्त्रण गरे । म नियमित कार्यक्रमहरुमा सहभागिता जानाउन थाले । सवै निर्वाचित महिलाहरु र दलका महिला नेतृहरु बैठकमा सहभागि हुने गर्दथे । उक्त संयुक्त बैठकबाट मेलै धेरै कुराहरु सिक्ने जान्ने मौका पाए । बैठकहरुमा सहभागिताले गर्दा ममा एक किसिमको साहास बढेको महशुस हुन्थ्यो र सामान्य तया बैठकमा बोल्न सक्ने भईसकेकी थिए ।

त्यसै बेला मानव अधिकारकोलागि महिला एकल महिला समुह ले पेभ परियोजना अन्तरगत हामी निर्वाचित महिलाहरुलाई फागुन महिनामा काठमाण्डौंमा नेतृत्व क्षमता बिकास तालिममा सहभागि बनायो । उक्त तालिमबाट मेरो जिवनमा नै परिवर्तन आयो । ममा रहेको डर हरायो । तालिम पश्चात मेरो आत्म बिश्वास बढेको छ । म बैठकहरुमा निर्भिक भएर बोल्न सक्ने भएकी छु । बिषयबष्तु बारे जानकारी भएपछि बोल्न सकिने रहेछ । अहिले सिमान्तकृत महिला खासगरी एकल महिलाकालागि कार्यक्रमको योजना वडा बाट स्वीकृत गराउन सफल भएकी छु ।

पहिले पहिले वडा अध्यक्ष, महिला सदस्यले भनेको मान्दैन्थे । अहिले कानुन अनुसार सिमान्तकृत महिलाका कुरा र माग प्रभावकारी रुपमा राख्दा खेरी अध्यक्षले पनि मान्ने गरेका छन । पहिले वडा सदस्यले हस्ताक्षर नगरेमा पनि कार्यक्रम रोकीदैन केही हुदैन भनि जावाफ दिन्थे । महिला सदस्य हुन, केही जान्दैनन भनी हरेक कुरामा आलटाल गर्दथे । अहिले वडा अध्यक्ष पनि महिला सदस्यले भनेको नमानेमा बिवाद गर्ने हुन भनेर नियम अनुसार कुराहरु राख्नुहोस् । मागहरु राख्नुहोस । हामी त्यसमा निर्णयगरी दिन्छौं भनि महिलाका मागलाई प्रोत्साहान गर्ने गरेका छन । यो सव महिला सदस्यमा आएको नेतृत्व बिकास तथा नेतृत्व क्षमताको प्रभावले गर्दा सम्भव भएको हो । निर्वाचित महिला सदस्यहरुको क्षमता अभिबृद्धि चाँही एकल महिला समुह संस्थाले गर्दा सम्भव भएको हो ।

जनताको खासगरी सिमान्तकृत महिलाको अपेक्षा अनुसार काम गर्न त सकिएको छैन । तर आफ्नो तर्फबाट सक्दो प्रयास गरेकी छु । आफ्नो वडामा राम्रो काम गरेको कारणले गर्दा गाउँका दिदी बहीनीले आगामी स्थानिय तहको चुनावमा पनि तपाईनै वडा अध्यक्षमा चुनाव लड्नु पर्दछ । हामी जिताउन्छौं भनी प्रोत्साहान गरिरहेका छन । तर त्यो मेरो निर्णयले मात्र सम्भव छैन । पार्टीले मेरो कामको मुल्याकंन गरी पुनः टिकट दिएमा म वडा महिला सदस्य वा अध्यक्ष पदमा चुनाव लड्ने योजनामा छु ।
उनको आगामी योजना बारे जिज्ञाषा राख्दा उनले भनिन, पार्टीमा टिकटको दावी पेश गर्ने, पार्टी बाट टिकट नपाएमा पहिले झै समाजसेवालाई निरन्तरता दिने छु । माईतिले बनाई दिएको घर छ । घरमा दुई ओटा सटर छन । त्यसैमा पसल खोल्ने या्ेजना छ । सानो ब्यपार पनि चलि हाल्छ । गाउँलेको स्ेवा पनि हुन्छ । होईन र !

ताजा समाचार