Sunday, September 25, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारएसएसबीले तुइन काट्दा नेपाली युवक महाकालीमा बेपत्ता

एसएसबीले तुइन काट्दा नेपाली युवक महाकालीमा बेपत्ता

दार्चुला,
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि दार्चुलाका एक युवक महाकाली नदीमा बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन्।

दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काट्दा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीय विक्रमसिंह धामीले बताए। उनका अनुसार, महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटेको थियो।

तुइनको बीच भागमा पुगेका जयसिंह नदीमा डुबेको उनले बताए। “भारततर्फ पुग्ने वेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बीच भागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्,” विक्रमले भने।

उनका अनुसार सदरमुकाम खलंगाबाट सामान लिनका लागि ६ जना स्थानीय भारतको बाटो आउँदै थिए। उनले भने, “पाँच जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने वेला एसएसबी पुगेर तुइन काटिदिए।” भारतको पांगलमा रहेका एसएसबीले तुइन काटेको उनले बताए।

दार्चुलाका साहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भने घटना कसरी घटेको हो भन्ने कुरा किलियर नभएको बताउदै भने कसैले तुइन काटेको भन्छन्, कसैले एसएसबी लाई देखेर अतालिएर खसेको बताउछन् घटना के हो अनुसन्धान भईरहेको बताए । बेपत्ताको खोजी कार्य भइरहेको जनाउदै अाफुहरू छलफलमा छौं, के भएको हो भन्ने बुझ्दै छौं,” जोशीले बेलडाँडी पोष्टलाई भने।

ब्यासबाट नेपाल भएर सदरमुकाम खलंगा आउन सहज बाटो छैन। त्यसैले ब्यासका बासिन्दा महाकालीमा तुइन तरेर भारतको बाटो भएर सदरमुकाम आउने गरेका छन्।

ताजा समाचार