Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारबाढीले हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति 

बाढीले हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति 

सिन्धुपाल्चोक,

बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति गरेको छ । बाढी पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको संख्या अझै पत्ता लागेको छैन । मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल  बगाएकाे र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो ।यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो ।

अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो । पुलसहित आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाले दिएको जानकारीअनुसार हेलम्बु वडा नं. १ का तीन पुरुष र एक महिला बेपत्ता भएका छन् ।

मौसम अनुकुल नभएकाले उद्धार कार्य प्रभावित भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार हालसम्म चार स्थानीय हराइरहेका छन् । बाढीले गरेको मानवीय क्षति हालसम्म यकिन हुनसकेको छैन । उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी मेलम्चीदेखि हेलम्बुसम्म तैनाथ छन् ।

बाढीले नाकोते, चनौटे, र मेलम्चीको पक्की पुल बगाएको छ । मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा आउने पक्की पुल बगाएकोले शिखरपुर मेलम्ची सम्पर्कविच्छेद भएको छ ।

ठाउँठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अवरुद्ध भएको छ । बाढीले मेलम्चीको बसपार्कमा रहेका ६० होटेल बगाएको छ । मेलम्ची बजारका दर्जनौं घर डुबानमा परेका छन् ।

बहुउद्देश्यीय कभर्ड हल र फनपार्क पनि बगाएको छ । हेलम्बु क्षेत्रमा रहेका सबै ट्राउट माछा फार्म बगाएको छ । माछा पालनसहित रहेको किउलस्थित भण्डारी ट्राउट माछा रिसोर्ट बगाउँदा होटेलमा काम गर्ने कुक हालसम्म वेपत्ता छन् । खोला किनारछेउमा रहेको चनौटे बजार डुवानमा परेको छ ।

ताजा समाचार