Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीकोरोनाका कारण ज्यान गुमाउने परिवारजनलाई बेलडाँडी साना किसानद्वारा किरिया खर्च

कोरोनाका कारण ज्यान गुमाउने परिवारजनलाई बेलडाँडी साना किसानद्वारा किरिया खर्च

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले कोभिडबाट ज्यान गुमाएका शेयर सदस्यका परिवारजनलाई किरिया खर्च प्रदान गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नं ४ कि मृतक पानसरी देवी खत्रीको घरमै गई परिवारजनलाई किरिया खर्च बापत रु. दश हजार रकम नगद हस्तान्तरण गरिएको सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी जोशीले जानकारी दिनुभएको छ ।उहाँका अनुसार सहकारी संस्थाको निर्णय अनुसार मृतकका परिवारजनलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको हातबाट उक्त रकम प्रदान गरिएको बताइएको छ । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडाध्यक्ष वीर बहादुर खड्का सहित जनप्रतिनिधि, बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक विमला बडवाल सहित पदाधिकारी र कर्मचारीहरूको उपस्थितिमा घरमै गई हस्तान्तरण गरिएको थियो ।

अपांगमैत्री बन्दै सहकारी

बेलडाँडी गाउँपालिकाको विशेष कार्यक्रम अन्तर्गत उक्त सहकारी संस्थासँग भएको सम्झौता अनुसार कुष्ठरोग प्रभावित एवं सबै प्रकार र प्रकृतिका अपाङ्गता भएका क, ख, ग र घ वर्गको परिचयपत्र भएका व्यक्तिहरूलाई यही जेठ २७ देखि असार १० गतेसम्म नि:शुल्क शेयर सदस्यता वितरण गरिरहेको सहकारीले जनाएको छ ।

गतविगतका वर्षहरू देखि नै सहकारीमा आबद्ध परिवारका सदस्यहरू मध्येबाट कोटा अनुसार छनौट गरी कृषि विषय अध्ययन भिसामा इजरायल पठाउने कार्य गर्दै आएको छ । त्यस्तै, किसानहरूलाई मलखाद बिक्रिवितरण, साना सिँचाई, एम्बुलेन्स सेवाका लागि तत्काल सहुलियत व्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारी संस्थाकी अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो । उक्त सहकारी संस्थाले दुई लाख रुपैयाँसम्म बिना धितो र सात लाख रुपैयाँसम्म धितो राखेर ९ देखि १३.५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्ति र महिलालाई विशेष सहुलियतमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । यसका अतिरिक्त सुत्केरी महिलाका लागि घ्यू खाने खर्च, कुनै सदस्यको मृत्यु भएमा सम्बन्धितको परिवारजनलाई किरिया खर्च समेत दिने गरेको छ । उक्त सहकारी संस्थामा एक हजार भन्दा बढी सदस्यहरू रहेका छन् ।

ताजा समाचार