Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारनिर्वाचित सांसद कता हो कता,  हारेका विष्ट अक्सिजन बाँड्दै 

निर्वाचित सांसद कता हो कता,  हारेका विष्ट अक्सिजन बाँड्दै 

दिपेन्द्र बस्नेत/कञ्चनपुर,
देशभर फैलिएको दोस्रो चरणको  कोभिड १९ कोरोना भाइरस सङ्क्रमणको प्रकोपले कञ्चनपुरका जनताको स्वास्थ्यमा असर परिरहेका बेला नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवान विष्ट भने यति बेला बिरामीहरूको लागि अक्सिजन सिलिन्डर वितरण गर्दै हिँडेका छन् ।

२०७४ को सङ्घीय र प्रादेशिक निर्वाचनमा निर्वाचित सांसदहरू क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट पीडित जनताको स्वास्थ्य सुरक्षाका लागि नदेखिएका बेला नेता विष्टले जनताको प्राण रक्षाका लागि आफ्नै लगानीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरणको अभियान थालेका छन् ।

काँग्रेस नेता विष्टले बेलौरी स्थित ईशान मेमोरियल अस्पताल , त्रिभुवन बस्ती स्वास्थ्य चौकी , बेलडाँडी लगायतका आवश्यकता रहेका कोभिड अस्पतालमा  अक्सिजन सिलिन्डर , अक्सिजन कन्सन्टेटर , अक्सिमिटर , स्वास्थ्य सामाग्री र बिरामीहरूलाई गर्मीका बेला हावाको उचित प्रबन्धका लागि  पङ्खा दिएका छन् ।

जिल्लाको दक्षिणी भेगबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूका लागि समेत उनले  अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । नेता विष्टले उपचाररत क्षेत्रका जनताहरूको आवश्यकता  र मागका आधारमा प्राण वायु अक्सिजन नि:शुल्क उपलब्ध गराउँदै आएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई  सङ्घीय मन्त्री समेत बनेकी बिना मगर आफ्नो निर्वाचन क्षेत्रमा  कोभिड सङ्क्रमणले जनता थलिएका बेला समेत बेवास्ता गरी रहँदा नेता विष्टले भने अक्सिजन , सिलिन्डर लगायतका सामाग्री वितरण गर्दै आएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका जनताले अक्सिजनको अभावका कारण ज्यान गुमाउन नपरोस् भनेर आफूले आवश्यक परेका जोसुकै जनतालाई अक्सिजन उपलब्ध गराउने अभियान थालेको नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवान विष्टले बताए ।

क्षेत्रका ४ वटा स्थानीय तह पुनर्वास , बेलौरी , बेलडाँडी र लालझाडीमा अक्सिजन  सिलिन्डर आवश्यक पर्ने जोसुकै व्यक्ति भए पनि आफूलाई सम्पर्क गर्न साथ उपलब्ध गराइने उनले बताए ।

ताजा समाचार