Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीगण्डकीमा पनि फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

गण्डकीमा पनि फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत दिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । उनीहरुले बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

संसदमा ६० सिट रहेको गण्डकीमा स्वतन्त्र सांसद दीपक मनाङेसहित एमाले एक्लैको २८ सिट रहेको छ । तर, माधव नेपाल पक्षका सांसदले साथ नदिने सम्भावना बढेकाले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा परेको हो ।

गण्डकीमा माधव नेपाल पक्षका एक जना सांसद रहेका छन् । त्यस्तै स्वतन्त्र सांसद दीपक मनाङले पनि मुख्यमन्त्री गुरुङको पक्षमा मतदान नगर्ने बताइसकेका छन् । उनले नयाँ सरकार गठनमा आफूले नेतृत्व लिने मिडियालाई बताउँदै आएका छन् । गुरुङलाई नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटा र मनाङेले फ्लोर क्रस गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

‘कर्णालीले थप संसय पैदा गराइदियो । यो क्रम गण्डकीमा पनि दोहोरिनेमा हामी सशंकित छौं । किनकी माधव नेपालमाथि गरेको कारबाही प्रदेशबाट प्रत्यक्ष रुपमा देखिन थालिसकेको छ’, प्रधानमन्त्री केपी शर्मा अ‍ोली निकट एक सांसदले भने ।

गुरुङ अहिले यसै पनि अल्पमतमा छन् । उनले संसदमा ३० जना सांसदको विश्वासको मत लिनुपर्नेछ । गुरुङलाई नेपाल पक्षले सर्मथन गरेको खण्डमा थप तीन मत आवश्यक पर्दछ । उक्त मत राष्ट्रिय जनमोर्चासँग मात्रै छ ।

प्रधानमन्त्री अ‍ोलीले नेपाललाई कारबाही गरेपछि आफूहरुले बाध्यतावश यस्तो निर्णय गर्नूपरेको नेपाल पक्षले बताउँदै आएको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गर्ने सांसद कुर्मराज शाहीले प्रधानमन्त्री अ‍ोलीले केन्द्रबाट सुरुवात गरेकाले आफूहरुले पनि कर्णालीबाट सुरु गरेको र यो अन्य प्रदेशमा पनि लागू हुने बताए ।

‘कर्णाली प्रदेशबाट सुरुवात गरिदिएका हौं । एकदिन अवस्य कारबाही हुन्थ्यौं । माधव नेपालमाथि कारबाही भएकाले हाम्रो औचित्य थिएन’, उनले भने ।

गण्डकीमा एमालेको २८, कांग्रेसको १५, माअ‍ोवादी केन्द्रको १२, राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका दुई जना सांसद रहेका छन् ।

कर्णालीमा यसरी उल्टीयो निर्णय

शुक्रबार कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भइसकेको थियो । शुक्रबार बिहानसम्म अवस्था ठिकठाकै थियो । आफ्ना १९ जना सांसदले मुख्यमन्त्रीको विपक्षमा मत हाल्नेमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह ढुक्क थिए ।

तर, पनि उनी विश्वस्त भने थिएनन् । उनले माधव नेपाल पक्षका सांसदहरुले गढबढ गर्ने चाल बुझेर ह्वीप नै जारी गरेका थिए ।

तर, पार्टीको ह्वीप उल्लंघन गर्दै नेपाल पक्षका चार जना सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे ।

कांग्रेससहित १८ सिट रहेका मुख्यमन्त्री स्वतः अल्पमतमा थिए । तर, एमालेका सांसदले फ्लोर क्रस गरेपछि शाहीको पक्षमा २२ मत पुग्यो ।

सरकार सञ्चालन गर्नका लागि उनलाई २० मतको आवश्यकता थियो । ह्वीप लगाएर पनि आफ्ना सांसदलाई तह लगाउन नसकेको एमाले दोधारमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अन्य प्रदेशबाट पनि नेपाल पक्षको साथ नपाउने संकेत कर्णाली प्रदेशबाट पाएको हो ।

ताजा समाचार