Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीहोली लगायत जात्रा,मेला र भिडभाड गर्नमा तत्काल कञ्चनपुर प्रशासन द्वारा रोक

होली लगायत जात्रा,मेला र भिडभाड गर्नमा तत्काल कञ्चनपुर प्रशासन द्वारा रोक

कञ्चनपुर,

कञ्चनपुर जिल्लामा होली सहित मेला, पर्व, महोत्सव, जात्रा आयोजना र भिडभाड गर्न रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो मंगलबार प्रमुख जिल्ला अधिकारीबाट एक आदेश जारी गर्दै राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागु हुने गरी निकट रहेको फागु पूर्णीमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भिडभाड गर्न तथा मानिसहरु भेला जुलुस गर्न नपाइने आदेश जारी गरेको छ ।
त्यस्तै, धार्मिक तथा सामाकि स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

आदेशानुसार, कोभिड १९ महामारीको संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा स्वास्थ्य सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ । अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवगमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । कञ्चनपुर जिल्ला स्थित अन्तर्राष्ट्रिय सीमानाका रहेका नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफण्टा नाकाबाट बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्र आवागमन र मालसामान ढुवानी गर्न पाउने तर बाँकी समय र अन्य खुला क्षेत्रबाट आवागमन पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ ।

तोकिएका नाकाबाट नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने, हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गराउने र ज्वरो आएका यात्रुहरुको मलेरियाको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिजेन परीक्षण गर्नुपर्ने जनाइएको छ । यसका अतिरिक्त, सबै व्यक्तिहरुले सेनिटाइजर, मास्क र सामाजिक दुरी लगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक, गोष्ठी, वा सेमिनार भर्चुअल माध्यमबाट गर्नु पर्ने तर अत्यावश्यक बैठक, गोष्ठी वा सेमिनार गर्नुपरेमा जनस्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण परिपालना गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

उक्त आदेशमा भएको व्यवस्था अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ को संक्रमण बढिरहेको र नेपालमा समेत सोको जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा कञ्चनपुर जिल्लामा गम्भीर असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन तथा विज्ञप्ती एवं जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयका आधारमा उक्त आदेश जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

ताजा समाचार