Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीशुक्लाफाँटा नगरपालिकामा कर्मचारी भर्नामा मनोमानी

शुक्लाफाँटा नगरपालिकामा कर्मचारी भर्नामा मनोमानी

कञ्चनपुर,

शुक्लाफाँटा नगरपालिकामा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ ।

नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्नका लागि भन्दै कर्मचारी र जनप्रतिनिधिका आफ्ना नजिकका नातेदारलाई कर्मचारीका रुपमा भर्ना गरेको बुझिएको छ । नियमानुसार कुनै पनि कार्यालयमा कर्मचारी भर्ना गर्दा नियमपूर्वक  कर्मचारी भर्ना गर्नुपर्ने नागरिक सुशासन समाजका अध्यक्ष वीरबहादुर बोहराले बताए ।

नगरपालिकाले ज्यालादारीमा भन्दै वडा नं. १, वडा नं. ५, वडा नं. ७, वडा नं. ८, वडा नं. ११ र वडा नं. १२ मा ३ /३ जना र वडा नं. २, वडा नं. ४, वडा नं. ९ र वडा नं. १० मा २/२ जनाको हिसाबले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी राखेको स्रोतले बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार २१ गते करार रज्यालादारी कर्मचारी भर्ना गर्ने सम्बन्धमा सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र नेपाल सरकारका विभिन्न अस्थायी प्रकृतिका कुनै पनि आयोजनामा स्वीकृत भएको अस्थायी दरबन्दीमासमेत करार तथा अस्थायी सेवामा नयाँ भर्ना नगर्ने, कर्मचारी आवश्यक परेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी फाजिलमा रहेका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने र सो अनुसार पदपूर्ति हुन नसक्ने अवस्था भएमा सो पद करार र अस्थायी र ज्यालादारीबाटै पूर्ति गर्नुपर्ने पर्याप्त आधार र कारण भएमा आर्थिक दायित्वका सम्बन्धमा अर्थ मन्त्रालयको र पदपूर्ति गर्ने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर मात्रै गर्ने भनेको छ ।

मन्त्रीपरिषद् बैठकबाट सार्वजनिक खर्चमा मितव्ययता अपनाउन स्वीकृत भएको मापदण्डले स्वीकृत दरबन्दी बाहेक ज्यालादारी र करारमा कर्मचारी भर्ना गर्न सार्वजनिक निकायलाइ रोक लगाएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्नका लागि आवश्यक कर्मचारीको व्यवस्थापन नगरले नै गर्नुपर्ने कार्यविधिमा व्यवस्था भएपनि शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडाहरूमा भने कर्मचारी र जनप्रतिनिधि निकटका व्यक्तिलाई ऐनकानून विपरीत भर्ना गरिएको पाइएको छ ।

 त्यसरी कर्मचारी भर्ना गरिएको विषयमा प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापासँग प्रतिक्रिया माग्दा उनले ३५ दिनका लागि तथ्याङ्क सङ्कलन गर्न कर्मचारी आवश्यक रहेकामा सोको पदपूर्ति गरिएको स्वीकार गरेका छन् ।

“भूमिसम्बन्धिको काम गर्न समय नजिकिसकेकाले हतारहतार नै भयो ।“ उनले भने “सूचना प्रकाशन गर्न पर्याप्त समय थिएन त्यसकारण ज्यालादारीमा वडागत रूपमा भर्ना गरिएको हो ।’’

ताजा समाचार