Saturday, December 3, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई चौतर्फी संकट :यता टाल्यो, उता भ्वाङ !

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई चौतर्फी संकट :यता टाल्यो, उता भ्वाङ !

काठमाण्डु,
सुदूरपश्चिम प्रदेशसभा गठनपछि मुख्यमन्त्री चयनको प्रक्रिया चल्दा ३ जना पात्र चर्चामा थिए । पूर्व माओवादीबाट मुख्यमन्त्री बन्ने भएपछि सांसद त्रिलोचन भट्ट, वीरमान चौधरी र मानबहादुर धामीको नामम चर्चामा आयो ।

तत्कालीन माओवादी पक्षका प्रभावशाली नेता लेखराज भट्टको जोडबलमा त्रिलोचन भट्ट मुख्यमन्त्री बने । चौधरी र धामीलाई प्रदेश सरकारमा मन्त्रीसम्म पनि बनाइएन । दुवैलाई किनारा लगाइयो ।

मुख्यमन्त्री त्रिलोचन भट्टप्रति सरकार गठनको प्रारम्भिक चरणदेखि नै पार्टीभित्रै असन्तुष्टि देखियो । मुख्यमन्त्री भट्टले आफू भारतमा ‘चौकीदार’ रहिसकेकाले अब सुदूरपश्चिमेलीले रोजगारीका लागि भारत जानु नपर्ने भाषण गरे । तर कोरोना महामारीको जटिल परिस्थितिमा पनि सुदूरपश्चिमेली युवाहरू भारत जान बाध्य भए ।

मुख्यमन्त्री भट्टको कार्यशैली ठीक नभएका कारण नेकपाका प्रभावशाली नेता लेखराज भट्ट नै मुख्यमन्त्रीसँग असन्तुष्ट बने । तर मुख्यमन्त्री भट्टले कार्यशैली सुधारेनन्, कसैका सुझाव सुनेनन् । मुख्यमन्त्री भट्ट आफ्नो कुर्सी जोगाउनमै सीमित रहेको पाइएपछि नेकपाभित्र असन्तुष्टि तीव्र देखिएको छ ।

पार्टी फुटपछि गहिरिँदो संकट

नेकपाभित्रै तीव्र असन्तुष्टिबीच पनि मुख्यमन्त्रीको पद जोगाइराख्न सफल भएका भट्ट पार्टी फुटपछि संकटमा परेका छन् । पार्टी फुटले मुख्यमन्त्री भट्टप्रतिको असन्तुष्टि व्यक्त हुन सहज भएको छ भने जोडघटाउ तीव्र भएका छन् । विभाजित नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेता दीर्घ सोडारीको कारवाही फुकुवा भएपछि मुख्यमन्त्री भट्टमाथि दबाब परेको छ । तत्कालीन मन्त्री सोडारीलाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए ।

सोडारीलाई पुनः मन्त्री बनाउनुपर्ने दबाब परेपछि मुख्यमन्त्री भट्टले उपाय निकाले – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई पदमुक्त गरेर सोडारीलाई मन्त्री बनाएर असन्तुष्टि साम्य पार्ने । हतारहतार बोहरालाई पदमुक्त गरेर सोडारीलाई मन्त्री बनाउन खोज्दा मुख्यमन्त्री भट्ट अर्काे चक्रब्यूहमा फसेका छन् ।

मुख्यमन्त्री भट्टले बोहरालाई पदमुक्त त गरे तर नयाँ मन्त्री नियुक्त गर्न सकेका छैनन् । जटिल अवस्था आएपछि मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत आफैंले सम्हाल्न थालेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री हुन ६ जना प्रदेशसभा सांसद आकांक्षी देखिएका छन् । ६ जनामध्ये कुनै १ जनालाई मन्त्री बनाउँदा अन्य ५ जना रुष्ट हुने र आफ्नो पद नै धरापमा पर्ने अवस्थामा मुख्यमन्त्री भट्ट छन् । तर उनी कसैलाई पनि मन्त्री नबनाई आफैंसँग मन्त्रालय राख्ने अवस्थामा पनि छैनन् ।

प्रदेश सरकारमा मन्त्री हुने आकांक्षा नेकपा प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कलबहादुर रावल, पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, प्रदेशसभा सदस्यहरू वीरमान चौधरी, पूर्णा जोशी र देवकी मल्लले देखाएका छन् ।

मन्त्री हुने आकांक्षी धेरै भएपछि प्रचण्ड–नेपाल पक्षकै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई पदमुक्त गरेर नयाँ मन्त्री बनाउने विकल्पमा समेत मुख्यमन्त्री कार्यालयमा छलफल भएको स्रोतले जनाएको छ । तर पार्टी फुटेको बेला आफ्नै मन्त्रीहरू हटाउँदा जोखिम हुने र अर्काे पक्षमा लाग्ने सम्भावना हुने भएकाले मन्त्री हटाउने विकल्पबाट समेत मुख्यमन्त्री भट्ट पछि हट्ने अवस्था रहेको जनाइएको छ ।

प्रचण्ड–नेपाल पक्षका सांसदले ओली पक्षमा लागेका आर्थिक मामिला मन्त्री झपट बोहरालाई समेत पदमुक्त गर्न दबाब दिएका छन् । तर बोहराले आफू ओली पक्षमा लागेको स्पष्ट नपारेकाले कारण उनलाई पदमुक्त नगरिएको जनाइएको छ । प्रधामन्त्री ओली पक्षले भने अर्थमन्त्री बोहरा आफ्नो पक्षमा रहेको दावी गरेको छ । बोहराले आफ्नो ‘कित्ता क्लीयर’ गर्ने बित्तिकै उनलाई समेत पदमुक्त गरेर प्रचण्ड–नेपाल पक्षका सांसदलाई मन्त्री बनाएर पद जोगाउने मुख्यमन्त्री भट्टको योजना छ । तर पद थोरै र आकांक्षी धेरै भएका कारण मुख्यमन्त्री भट्ट चौतर्फी संकटमा परेका छन् ।

प्रचण्ड–नेपाल पक्षभित्रैका नेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह आफैं मुख्यमन्त्री बन्ने दौडमा लागेकाले मुख्यमन्त्री भट्टलाई झन् अप्ठ्यारो परेको छ । ओली पक्षले मुख्यमन्त्री बनाउन बहुमत जुटाउन नसकेको अवस्थामा प्रचण्ड–नेपाल पक्षभित्रै भट्टलाई हटाएर अरुलाई नै मुख्यमन्त्री बनाउने खेल समेत भइरहेको छ ।

असन्तुष्ट सांसदको कुरा समयमै सुनुवाइ नभए मुख्यमन्त्री भट्टको मुख्यमन्त्री पद झन्झन् खतरामा देखिन्छ । उता ओली पक्षले पनि सुदुरपश्चिम प्रदेशमा सरकार बनाउन कांग्रेससंग छलफल सुरु गरेको स्रोतको दावी छ । त्यसका लागी कांग्रेस सभापति शेरबहादुर देउवा र उद्योगमन्त्री लेखराज भट्टबीच छलफल भइरहेको बताइन्छ । आफु चौतर्फि संकटमा परेपछि मुख्यमन्त्री भट्टले उद्योगमन्त्री लेखराज भट्टसंग फेरी छलफल गर्न खोजेको पनि चर्चा छ ।    काठमाण्डुपाटी बाट साभार

ताजा समाचार