Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीनेकपा फुटेपछि झन् भयंकर लडाइँ, एकअर्कालाई सिध्याउने खेल

नेकपा फुटेपछि झन् भयंकर लडाइँ, एकअर्कालाई सिध्याउने खेल

काठमाण्डु,
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि २०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी–केन्द्रबीच बाम गठबन्धन बनाएर चुनाव लड्ने सहमतिसँगै पार्टी एकीकरणको प्रक्रिया अगाडि बढेको थियो । त्यही जगमा २०७५ जेठ ३ गते पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको थियो ।

चुनावकै बेलादेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ‘समृद्धिको सपना’ देखाउँदै नेकपा घोषणा गरेका थिए । आज अध्यक्ष ओली र प्रचण्ड दुवै पक्षका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बसेर समृद्धि सपनाको औपचारिक अवसान गरिँदैछ ।

नेकपाभित्र चर्केको झगडा र विवादले पार्टीको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधिसभा विघटन गरिएको छ । अध्यक्ष प्रचण्ड पक्षको दबाब, प्रभाव, चेतावनी र छेडखानीले वाक्क भएर संसद विघटन गर्दै ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको ओलीको तर्क छ । अध्यक्ष प्रचण्डले भने संसद विघटनलाई असंवैधानिक ठह¥याउँदै संसद पुनःस्थापना हुनुपर्ने माग गरिरहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको छ ।

पार्टी एकीकरणपछि नेकपाभित्र देखिएका समस्या र संकट पार्टी फुटसँगै समाप्त होलान् त ? हुँदैनन् । नेकपाको संकट पार्टी फुटपछि झन् भयंकर भएर जाने देखिएको छ । दुवै पक्ष एकअर्कालाई सिध्याउने खेलमा लाग्ने स्पष्ट देखिएको छ ।

पार्टीबाट कारवाही र संरचनामा कब्जा

एकअर्कालाई राजनीतिक रूपमा सिध्याउने खेल अन्तर्गत आज दुवै पक्षका केन्द्रीय कमिटी बैठक बस्दैछन् । बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका छन् भने । दिउँसो १ बजे बबरमहलको कार्की व्याङ्केटमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बस्दैछ ।

पार्टी शीर्ष नेतृत्व मात्रै होइन, पार्टी केन्द्रीय कार्यालयका सचिवहरू पनि विभाजित भएका छन् । प्रचण्ड पक्षमा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल छन् भने ओली पक्षमा कार्यालय सचिव ईश्वरी रिजाल रहेका छन् ।

दुवै पक्षको बैठकबाट एकअर्कालाई पार्टीबाट कारवाही गर्नेसम्मको निर्णय हुनेछ । प्रचण्ड पक्षले यसअघि नै स्थायी कमिटी बैठकबाट ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ । यसबारे निर्वाचन आयोगलाई समेत लिखित जानकारी दिइएको छ ।

ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ । प्रचण्ड पक्षले भोलि बुधबार संघीय संसदीय दलको बैठक राखेर ओलीलाई दल नेताबाट हटाउने तयारी समेत गरेको छ । यसको प्रतिवाद स्वरूप ओलीले समेत पक्कै केही निर्णय लिनेछन् ।
ओली र प्रचण्डको विवाद पार्टी निर्णय र कारवाहीमा मात्रै सीमित छैन, भौतिक रूपमा लडाइँ गर्ने र भौतिक संरचना कब्जा गर्नेसम्म पुग्ने देखिएको छ । त्यसको संकेत लमजुङ जिल्लामा देखिएको छ ।

नेकपा भातृ संगठन राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका ओली पक्षीय नेता कार्यकर्ताले बेंसीशहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) मा प्रचण्ड पक्षीय जिल्ला अध्यक्षलाई बस्नै दिएनन् । पूर्व माओवादी पक्षीय नेत्री तथा जिल्ला अध्यक्ष मधुमाया अधिकारीलाई ओली पक्षीय युवाले लखेट्दै पूर्व एमालेले बनाएको पार्टी कार्यालयमा बस्न नपाइने उर्दी जारी गरेका छन् ।

पार्टी कार्यालयको कार्यकक्षमै रहेका बेला ओली पक्षका युवाले आफूले थुनेको दाबी समेत अधिकारीले गरेकी छन् । ओली पक्षका युवाले अध्यक्ष र सचिवको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । यो प्रवृत्ति देशभर देखिँदै जानेछ । पार्टी फुटको औपचारिक घोषणापछि स्वामित्वको लडाइँ चल्नेछ ।

पार्टीमाथि स्वामित्वको लडाइँ

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्दै बैशाखको निर्वाचन हुने र निर्वाचनमा होमिन आह्वान गरेका छन् । निर्वाचनका लागि ओलीले निर्वाचन आयोग र सुरक्षा निकायलाई निर्देशन समेत दिइसकेका छन् । संसद पुनःस्थापनाको मागलाई ओलीले वास्ता गर्ने संकेत देखिँदैन, बरु दमन र बल प्रयोग गरेरै निर्वाचनमा जाने ओलीको तयारी छ ।

राजनीतिक कर्तव्यनिर्वाहका लागि संसद विघटनको विरोध गरेपनि नेपाली कांग्रेस ढिलोचाँडो निर्वाचनमा होमिने निश्चित छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई बैशाखको निर्वाचन सुखद अवसर बनेर आएको छ । निर्वाचन मुखैमा आएकाले पार्टी महाधिवेशन गर्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ भने नेकपा विभाजन भएको अवस्थामा कांग्रेस पार्टीलाई जिताएर त्यसको श्रेय लिने अवसर समेत मिल्नेछ ।

देउवाले यसअघिको निर्वाचन जिताउन नसकेको भनेर पार्टीभित्रै लागेको दोष पखाल्ने अवसर ओलीले मध्यावधि निर्वाचन घोषणा गरेर दिएका छन् । नेकपाभित्रको विवाद, समृद्धि सपना अलपत्र पारेर मध्यावधि निर्वाचन घोषणा गरेको दोष र गत चुनावका वाचा पूरा नगरेका कारण कांग्रेसका लागि आगामी चुनाव सम्भावनायुक्त समेत छ ।

कांग्रेस मात्रै होइन, राजतन्त्र र हिन्दूराष्ट्र सहितको मुद्दा लिएर सक्रिय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत निर्वाचनको स्वागत गरेको छ । तसर्थ देश अन्ततः निर्वाचनमै होमिने देखिन्छ । तर नेकपाभित्र भने पार्टीको स्वामित्व ओली वा प्रचण्ड कुन पक्षले लिने भन्ने विवाद चलिरहनेछ ।

ओलीले आफू १ नम्बर अध्यक्ष भएकाले आफ्नो हस्ताक्षर विना भएका कुनै पनि निर्णय वैधानिक नहुने तर्क गरिरहेका छन् । प्रचण्ड पक्षले बहुमत देखाएर निर्णय गर्दै बहुमत वैधानिक हुने तर्क गरिरहेका छन् । यी तर्कले जन्माएको विवाद निर्वाचन आयोग वा अदालतमा पुग्नेछ । आयोग र अदालतले समेत प्रमाणका आधारमा बोल्ने भएकाले नेकपाको एकीकरण टुंगोमा नपुगेको संक्रमणकालीन अवस्थामा दुवै पक्षका प्रमाण र आधार गञ्जागोलयुक्त हुनेछन् । जसका आधारमा निर्णय लिन आयोग र अदालतलाई समेत अप्ठ्यारो पर्ने नेकपाकै नेताहरू बताउँछन् ।

एकअर्कालाई सिध्याउने खेल अन्तर्गत प्रधानमन्त्री ओलीले नेकपाको स्वामित्व आफ्नो हातमा पार्ने कोसिस गर्नेछन् । आफ्नो हातमा पार्टी नआउने अवस्थामा विवाद लम्ब्याएर आगामी चुनावसम्म अर्काे पक्षलाई समेत पार्टीको स्वामित्व दिनबाट रोक्नेछन् । ओलीले वैकल्पिक रूपमा ‘उदाउँदो सूर्य’ चुनाव चिह्नसहित निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गराएको चर्चा यसअघि नै चलेको हो ।

ओलीले आफू उदाउँदो सूर्यसहित चुनाव लड्ने र सूर्य चिह्नलाई विवादित बनाएर प्रचण्ड पक्षलाई अलपत्र पार्ने रणनीति बनाएको स्रोतले जनाएको छ । यस्तो बेला प्रचण्ड पक्ष समेत चुप लागेर नबस्ने, सडकमा आन्दोलन चर्किन सक्ने, त्यसलाई रोक्न ओली सरकारले दमन गर्न सक्ने, आन्दोलन बढ्दै गए देशमा संकटकाल समेत लाग्न सक्नेसम्मका सम्भावनाका ढोका खुल्दै गएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर खुलेको ‘समृद्धि सपना’को ढोका ‘संकटकाल सम्भावना’मा पुगेर टुंगिएको छ । ओली र प्रचण्ड पक्षको लडाइँ कहाँ गएर टुंगिन्छ ? हेर्न बाँकी छ ।
काठमाण्डुपाटी बाट साभार

ताजा समाचार