Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका युवा जोशी बाख्रा पालनमा रमाउदै, बेरोजगार युवाहरुका लागि प्रेरणाको श्रोत बन्दै

बेलडाँडीका युवा जोशी बाख्रा पालनमा रमाउदै, बेरोजगार युवाहरुका लागि प्रेरणाको श्रोत बन्दै

बेलडाँडी,

कृषि प्रणालीमा पशुपालनको ठूलोे योगदान रहेको छ । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा करिब एक तिहाई हिस्सा पशुपालन क्षेत्रले ओगटेको छ । पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न व्यवसायको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि हिमाली क्षेत्रमा सामान ढुवानी, छाला, रौं, दुध उत्पादन गर्ने समेत देखिएको छ ।

बेलडाँडीका युवा गोकर्ण जोशी विगत १ बर्ष यता देखि विभिन्न जातका बाख्रा पालन देखि लिएर कृषि तिर आफु सहित पुरै परिवारलाई उत्पादकत्वमा रमाउन प्रेरित गरेका छन् । भाइको नाममा कृषि फर्म दर्ता गरेर उनी स्वदेशमै बसेर केहि गर्नुपर्छ भन्ने मान्यताका साथ कृषिमा रमाउन थालेको छन् । बेरोजगार भएर बस्नु भन्दा समुदायलाई सकारात्मक प्रेरणा मिल्ने तरिकाले बाख्रा पालन देखि लिएर माछा पालन, कुखुरा पालन जस्तोमा सरिक भएका छन् ।

बेलडाँडी गाउँपालिका वडा नं.२ आफ्नै घरमा बेलडाँडी बाख्रा पालन नामक फर्म खोली अहिले बिउका बोका उत्पादन, माउ उत्पादन गर्ने गरेको बताउछन् । उहाँका अनुसार केहि बाख्रा घरमै रहेको र घरका लोकल बाख्रालाई समेत क्रस गराई उन्नत खालका बाख्रा बनाउने कार्यमा लागेको बताए । १५ लाख बराबरको लागतमा ५० भन्दा बढी बाख्रा, लोकल कुखुरा, खोर निर्माणमा खर्च भएको जनाए । आप्नो फर्ममा अहिले बोयर क्रस,सिरोही,विटल क्रस, खरी लगायतका रहेको छन् ।

नेपाल सरकारले कृषिमा अनुदानको व्यवस्था गरेपछि गरिखाने भन्दा पहुचवालाले मात्र अनुदान पाउने गरेको यस क्षेत्रमा पाइएको छ । बेलडाँडी क्षेत्रकै उदाहरणिय कार्यको समेत प्रसंशा नगरि सक्नु, हौसला प्रदान गर्नु त कहाँ हो कहाँ आवश्यक परेको बेला प्राविधिक सहयोग समेत नपाइएको दुःखेसो रहेको छ । कहिले काही भ्याक्सीनको समस्या हुने गरेको छ सरकारले भ्याक्सीन जस्ता केहि औषधी निशुल्नक उपलब्ध गराउने गरेपछि आफुहरुले नपाउने जनाए । अनुदान भन्दा कृषिमा सहुलियत दरमा ब्याज उपलब्ध गराइदिने काम गरेपनि किसानहरुले सो कार्य गर्ने धेरै टेवा पुग्ने जनाए ।

व्यवसायी जोशीकी आमा राधिका जोशी राजनितिमा समेत तल्लिन हुनुहुन्छ । नेपाली कांग्रेसको सकृय राजनितिमा लागेकी उनी आफ्ना छोराहरुले गरेको बाख्रा पालनलाई खाली समय निकै सघाउने गरेकी छिन् । उहाँका अनुसार विहान ४ बजे उठ्ने बाख्राहरुलाई चारा दाना खुवाने काम देखि लिएर बच्चा पाउने बाख्रीलाई विषेश ध्यान दिदै खोरको हेरचाह गर्ने गरेको बताइन । छोराहरुको यस्तो सोचको आफुले सम्मान गर्दै यस्तै अन्यले व्यवसाय गरेर आत्म निर्भर बन्नुपर्नेमा लाग्नुपर्ने धारण राख्नु भयो । आफुहरुलाई प्राविधिक ज्ञान नभएका कारण कहिलेकाही साना साना समस्या हुने गरेको बताउदै यस्तो बेला स्थानीय सरकारले आफ्ना प्राविधिक पठाएर सहयोग गरिदिए पनि धेरै हुने बताउनु भयो ।

शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ । हाल देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा नेता देखी अभिनेता सम्म लागिरहेका भएता पनि यस व्यवसायलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायीकरण गर्दै उपलब्ध साधन र श्रोतको समुचित प्रयोगबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गरी उत्पादन लागत कम गर्नु प्रमुख चुनौतीको रुपमा रहेको छ । विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पुर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात भईरहेको अवस्था छ ।

ताजा समाचार